वीरगञ्ज नाकाबाट १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

वीरगन्ज। वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ । 

गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालु अवधिको सोही अवधिमा यो नाका हुँदै एक खर्ब दुई अर्ब ४४ करोड अर्थात् १५ प्रतिशत बढी सामान भित्रिएको हो । 

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगन्ज हुँदै हुने आयातमा बढोत्तरी भएको बताए । 

उनले चालु आर्थिक वर्षको पेट्रोलियम पदार्थ र फलाम तथा फलामजन्य वस्तुको आयातमा वृद्धि भएको बताए । 

जबकि गत आर्थिक वर्षको १० महिनामा भने छ खर्ब ९२ अर्ब ४३ करोड मूल्यका वस्तु तथा सामान आयात भएको थियो ।
 
चालु आर्थिक वर्षको १० महिनामा एक खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने पाँच थरिका पेटोलियम पदार्थको आयात भएको छ । 

त्यसैगरी, सोही अवधिमा ६९ अर्ब ४२ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएको छ । 
यसैगरी ५७ अर्ब ६६ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ । त्यसैगरी ५५ अर्ब सात करोड मूल्य पर्ने भटमासको कच्चातेल आयात भएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  ०६:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update