काठमाडौँ । झापाको कन्काई नगरपालिकाले सबै वडाबाट वैदेशिक रोजगारीमा गएर फर्किएका ५ जनालाई निम्ता गरेको छ ।
नगरपालिकाका रोजगार संयोजकले सबै वडा कार्यालयहरुलाई परिपत्र गरी विदेशमा काम गरेर फर्किएका ५ जनालाई नगरपालिकाले संचालन गर्ने अन्तरक्रिया तथा विचार आदानप्रदान कार्यक्रमको सहभागी हुनको लागि बोलाइएको छ ।
नगरपालिकाले जेठ १२ र १३ गते कार्यक्रम संचालन गर्न लागेको हो । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुमा उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्यका साथ उद्यमशीलता सम्बन्धी जानकारी दिने, अन्तरक्रिया र विचार आदान प्रदान गर्नको लागि २ दिने कार्यक्रम आयोजना गर्न लागिएको नगरपालिकाले जानकारी दिएको छ । यो कार्यक्रममा कन्काई नगरपालिका–१ मा रहेको कालिका मन्दिरको सभाहलमा हुनेछ ।
नगरपालिकाका रोजगार संयोजकले दिएको जानकारी अनुसार तालिम अवधीमा सहभागीहरुलाई दैखिक यातायात खर्च प्रतिदिन २ सय रुपैयाँ र चिया खाजा उपलब्ध हुनेछ ।






