गणतन्त्रात्मक शासन प्रणाली र निजामती सेवा

लोकतान्त्रिक अधिकारहरूको पूर्ण उपभोग गर्न नागरिकहरू बढी आकर्षित हुन्छन् । राजनीतिक प्रणालीको विकासक्रम अध्ययन गर्दा निरङ्कुश  राजतन्त्रले नै विश्वका प्रायः सबै देशहरुमा प्रारम्भका दिनहरूमा एकछत्र शासन गरेको अवस्था थियो । तत्पश्चात् नागरिकहरूले लोकतान्त्रिक अधिकारहरु क्रमशः प्राप्त गर्दै गएको अवस्था हो । 

आधुनिक समाजको आकर्षण लोकतन्त्रप्रति छ । जनताको सर्वोच्चतालाई स्वीकार गर्दै शासन प्रणालीमा समयसापेक्ष परिवर्तन हुँदै आएको छ । सार्वभौम जनता नै  सबै प्रकारका शक्तिको स्रोत हुन्छन् । गणतान्त्रिक शासन प्रणालीले यथार्थमा लोकतन्त्रको संरचनागत विकास गर्न सक्दछ । आमनागरिकहरूको शासन प्रणालीमा प्रत्यक्ष सहभागिताको सुनिश्चित गणतान्त्रिक शासन प्रणालीले गर्दछ, गर्नु पनि पर्दछ । एक व्यक्तिमा निहीत रहेको शासन र जनताको सहमति र निर्णयको परीक्षण नै नगरी वंशानुगत शासन प्रणाली राजतन्त्रमा सुदृढ भएको हुन्छ । 

राजतन्त्रात्मक शासन प्रणालीमा नागरिकहरुले शासनलाई मार्गदर्शन प्रदान गर्न सक्दैनन् । गणतन्त्रमा शासकहरूको प्रत्यक्ष जवाफदेहिता नागरिकप्रति रहन्छ । शासन प्रणाली जनताबाट निर्देशित हुने भएकाले गणतन्त्रमा उत्तरदायी शासन व्यवस्थाको सञ्चालन सम्भव भएको हो । त्यसैले लोकतन्त्रबाट अत्याधिक प्रतिफल र उपलब्धि हासिल गर्न नागरिकहरू गणतान्त्रिक शासन प्रणालीप्रति गोलबद्ध हुन पुग्दछन् । यस अर्थमा गणतन्त्र नागरिकहरूको जीवनरेखा नै मानिएको छ । 

वंशानुगत शासन प्रणालीलाई विस्थापित गर्ने क्रममा जनप्रतिनिधिद्वारा सर्वोच्च पदमा आसिन गराई आफ्नै प्रतिनिधिमार्फत शासित हुने व्यवस्था नै गणतन्त्र हो । सबै नागरिकहरुलाई समान अधिकारहरूको प्रत्याभूति गणतन्त्रले गर्दछ । यसमा नागरिकहरूको आत्मसम्मान, प्रतिष्ठा, सहभागितालाई सर्वोपरि प्राथमिकतामा राखिन्छ । शासन प्रणाली वंशानुगत रूपमा सञ्चालन भई एक व्यक्तिले समग्र राष्ट्रलाई नै आफ्नै इच्छाअनुसार सञ्चालन गर्ने शासकीय प्रक्रियाबाट उन्मुक्ति प्राप्त गर्न गणतन्त्रबाट मात्र सम्भव हुन्छ । लोकतन्त्रको सिद्धान्त, मूल्य, मान्यतालाई व्यवहारमा परिणत गरी सच्चा लोकतन्त्रको अनुभूति गराउने व्यवस्थाको अर्को नाम गणतन्त्र हो । वंशानुगत शासन प्रणालीमा आम नागरिकहरूको आवाज कुण्ठित हुन सक्दछ । 

गणतन्त्रमा संविधान नै शासन सञ्चालनको मूल आधार हुन्छ । सबै नागरिकहरूले आफ्ना मौलिक हकहरूको उपभोग निर्वाधरुपमा गर्न सक्दछन् । शासन प्रणालीमा नागरिकहरूले स्वामित्व ग्रहण गर्ने वातावरण तयार हुन्छ । राज्य र जनताका बीचको सम्बन्ध अत्यन्त सौहार्दपूर्ण हुन्छ । सबै वर्गको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशीकरणको सिद्धान्तलाई अवलम्बन गरिएको हुन्छ । नेपाल बहुजातीय, बहुसांस्कृतिक देश भएकाले विविधताका बीच एकताका पक्षमा शासन केन्द्रित गर्न पनि गणतन्त्र जरुरी हुन्छ । आफ्ना आवश्यकताहरूको पहिचानगरी सोही अनुसारका नीति निर्माण गर्न, योजना बनाउन र कार्यक्रम तयार गर्ने सम्बन्धमा योगदान दिन नागरिकहरू गणतन्त्रिक लोकतन्त्रमा मात्र सक्षम हुन्छन् । 

खासगरी नेपाली युवाहरुमा राजनीतिक चेतना र जागरण ल्याउन यस प्रणालीबाट सम्भव हुन्छ । प्रतिवर्ष मनाइने गणतन्त्र दिवसले यसका लागि उपयुक्त मञ्च तयार पारिदिन्छ । विशेषगरी युवाहरूले राजनीतिक चिन्तन, मनन एवं विश्लेषण गर्ने गराउने अवसर प्राप्त गर्दछन् ।

नेपालमा लामो लोकतान्त्रिक सङ्घर्षपश्चात् २०६५ जेठ १५ गते गणतन्त्र प्राप्त भएको हो । यस दिनलाई  हर्षोल्लासका साथ राष्ट्रिय पर्वकै रूपमा मनाइन्छ । नेपालमा यो उत्कृष्ट लोकतान्त्रिक शासन प्रणाली प्राप्त गर्नका लागि धेरै लामो समयदेखि नेपाली नागरिकहरु सङ्घर्षशील रहेका हुन् । लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा धेरै सपुतहरुले आफूलाई बलिवेदीमा चढाइ लोकतन्त्रको प्रतिफल नेपालीहरूलाई प्रदान गर्न सफल भएका हुन् । यो राजनीतिक उपलब्धि प्राप्त गर्नका लागि नागरिक समाज, राजनीतिक दलहरु हुँदै सचेत नेपाली नागरिकहरूको ऐक्यबद्धताले निरन्तरता दिँदा सम्भव बनाएको हो । नेपालको राजनीतिक घटनाक्रमहरूको सिंहावलोकन गर्नुपर्दा २००४ सालदेखि २०१५, २०१९, २०३६ र २०६३ सालसम्मको नागरिकहरूको भगिरथ प्रयासलाई स्मरण गर्नुपर्दछ । राजनीतिक दलहरूको एक दलले सन् १९८६ देखि २००६ सम्म देशमा ठूलो द्वन्द्व र आतङ्कको अवस्था सिर्जना गरेको यथार्थता हामीहरूको स्मरणमा छ ।  

जुनसुकै बादलमा पनि चाँदीको घेरा हुन्छ भनेजस्तै एउटा महत्वपूर्ण गन्तव्यका रुपमा देशलाई लोकतान्त्रिक गणतन्त्रमा परिणत गर्ने दृढता त्यसबखतका द्वन्द्वरत पक्षहरूमा देखिएको  थियो । नेपालको २४० वर्ष पुरानो निरंकुश राजतन्त्रात्मक शासन प्रणालीलाई परिवर्तन गरेर गरिबीको अवस्था र अन्यायपूर्ण शासन प्रणालीबाट उन्मुक्ति  खोज्ने निरन्तर प्रयास नेपाली नागरिकहरूले गरेका हुन् । राजतन्त्रात्मक शासन प्रणालीलाई विश्वमै क्रमशः अस्वीकार्य शासनका रुपमा लिँदै गरेको पाउँदाका कारण पनि नेपाली नागरिकहरू संघर्षरत रहेका हुन् । यिनै  प्रयासहरुको परिणाम नेपालीहरुले २०६५ सालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली प्राप्त गरेका हुन् । 

गणतन्त्रको  उपादेयता

नेपाली नागरिकहरू २४० वर्षसम्मको निर्वाध रुपमा अभिव्यक्तिको स्वतन्त्रताको उपभोग गर्न नपाएको तिक्तता र आक्रोशका कारण गणतन्त्रप्रति आकर्षित हुँदैगएका थिए । राजतन्त्रात्मक शासन प्रणालीका शासकहरूका विरुद्ध आन्दोलन गर्न सक्ने हैसियतमा नागरिकहरू प्रारम्भका समयमा थिएनन् । विश्व परिवेशमा आएको परिवर्तनका कारण नेपालीहरू पनि सचेत हुँदै गएका हुन् । गणतन्त्र प्राप्त भएपश्चात् जनताले आमनिर्वाचनबाट आफ्ना प्रतिनिधिहरु निर्वाचित गरी लोकतान्त्रिक शासनमार्फत शासित हुने सौभाग्य प्राप्त गरेका छन् । यो स्वतन्त्रतासम्बन्धी अधिकारको प्रयोग गर्न पाएकै कारण गणतन्त्रको उपादेयता देखिएको हो । देशका दूरदराजदेखि उन्नत सहरी क्षेत्रमा बसोबास गरी आएका सम्पूर्ण नागरिकमा विविधताका बीच लोकतान्त्रिक अधिकारको सदुपयोग गर्दै राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको पक्षमा एकताबद्ध हुने वातावरण गणतन्त्रले बनाइदिएको हो । 

खासगरी नेपाली युवाहरुमा राजनीतिक चेतना र जागरण ल्याउन यस प्रणालीबाट सम्भव हुन्छ । प्रतिवर्ष मनाइने गणतन्त्र दिवसले यसका लागि उपयुक्त मञ्च तयार पारिदिन्छ । विशेषगरी युवाहरूले राजनीतिक चिन्तन, मनन एवं विश्लेषण गर्ने गराउने अवसर प्राप्त गर्दछन् । राजनीतिक इतिहास, लोकतान्त्रिक शासन प्रक्रिया, नागरिकहरूको राष्ट्रप्रतिको कर्तव्य जस्ता महत्त्वपूर्ण विषयहरुमा सुसुचित हुने अवसर यस्ता राष्ट्रिय पर्वबाट युवाहरुले प्राप्त गर्दछन् । अग्रजहरूले गणतन्त्र र लोकतन्त्र प्राप्तिका लागि गरेका सङ्घर्ष र योगदानको बारेमा जानकारी प्राप्त गर्दछन् । लोकतान्त्रिक गणतन्त्रको उपादेयता  र महत्त्वको बारेमा सुसुचित  हुने अवस्था बन्दछ । मताधिकारको प्रयोग गर्दै निर्वाचित प्रतिनिधिहरूलाई आम नागरिकहरूप्रति जवाफदेही बनाउने प्रण गर्ने दिनका रुपमा गणतन्त्र दिवसलाई लिइन्छ । संविधानमा रहेका लोकतान्त्रिक प्रावधानहरूको व्यवहारमा उपयोग गर्नका लागि आफ्ना प्रतिनिधिहरुलाई निर्देशित गर्ने हैसियत नागरिकहरुले प्राप्त गर्दछन् । जनप्रतिनिधिहरू समेत आफ्ना मतदाताहरूबाट प्राप्त मार्गदर्शन र निर्देशनका आधारमा लोकतान्त्रिक प्रणालीलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रक्रियामा अभ्यस्त हुन्छन् । न्याय र स्वच्छ व्यवहारको प्राप्ति गणतान्त्रिक लोकतन्त्रमै हुन्छ । नागरिकहरूले सम्मान पाउने व्यवस्था पनि यही हो । भयरहित वातावरणमा जीवन निर्वाह गर्न लोकतान्त्रिक सिद्धान्त मूल्य र मान्यतामा अडिग रहन यस प्रणालीले मार्गप्रशस्त गर्दछ । 

गणतन्त्रत्मक लोकतान्त्रिक शासन प्रणाली सर्वोत्कृष्ट लोकतान्त्रिक प्रणाली भएकाले नेपालमा गणतन्त्र प्राप्ति भएकोमा विश्वका प्रायः सबै लोकतान्त्रिक देशहरुले  नेपालको यस उपलब्धिलाई समर्थन गरेका छन् । नेपाली जनताको इच्छा र आकांक्षाका कारण नेपालमा गणतन्त्र प्राप्त भएकाले यस्तो शासन प्रणाली स्थापना भएको अवसरलाई संयुक्त राष्ट्रसङ्घले समर्थन र स्वागत गरेको छ । विश्वभर नै आफ्नो पहिचान लोकतान्त्रिक गणतन्त्रात्मक देशका नाताले बनाउन सफल भएकै कारण अन्तरराष्ट्रियस्तरमा नेपालको स्वीकार्यता बढ्दै गएको छ । दुईपक्षीय र बहुपक्षीय सम्बन्धहरू समेतमा विस्तार हुँदै आएको छ । यो गणतान्त्रिक लोकतान्त्रिक शासन प्रणाली कै कारण सम्भव भएको हो । 

गणतन्त्रमा निजामती सेवाः 

गणतान्त्रिक व्यवस्थामा जनता सदैव शासन सत्ताको केन्द्रमा रहन्छन् । जनताको चाहना, इच्छा र आवश्यकताको पहिचान गर्दै नागरिकहरूको पूर्ण सम्मानका साथ शासन सञ्चालन यस प्रणालीमा गरिन्छ । यस्तो लोकतान्त्रिक शासन स्थायी संयन्त्र वा स्थायी सरकारको रुपमा अस्तित्वमा रहेको हुन्छ । यस महत्वपूर्ण संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गर्न सक्दा मात्र जनता समक्ष लोकतान्त्रिक सरकारले विश्वास आर्जन गर्न सक्दछ । सक्षम निष्पक्ष र उत्तरदायी निजामती प्रशासन लोकतान्त्रिक गणतन्त्रमा अपरिहार्य मानिन्छ । राष्ट्रसेवक निजामती कर्मचारीहरूले प्राप्त गर्ने अधिकारहरू लगायतका सुरक्षाको व्यवस्था गर्न गणतान्त्रिक सरकारसक्षम हुनुपर्दछ । यस परिस्थितिमा मात्र निजामती सेवाबाट अपेक्षित उपलब्धिहरु प्राप्त हुन सक्छन् ।

निजामती सेवाका राष्ट्रसेवकहरूबाट नागरिकहरूले सरल तरिकाले पारदर्शिताका आधारमा गुणस्तरीय प्रभावकारी सेवा उपलब्ध हुनुपर्ने अपेक्षा गरिराखेका हुन्छन् । यस प्रकारको व्यवस्थामा जनता नै वास्तवमा मालिक हुने भएकाले निजामती संयन्त्र सेवाग्राही जनताप्रति उत्तरदायी र  जवाफदेही बन्नुपर्दछ । कानुनी शासनका आधारमा प्रशासन सञ्चालन हुनुपर्दछ । भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्नमा निजामती संयन्त्र प्रभावकारी सिद्ध हुनुपर्छ । यस प्रकारको प्रभाव नागरिकहरूमा पर्दा मात्र राज्यप्रति आम नागरिकहरूले विश्वास प्रकट गर्दै स्वामित्व ग्रहण गर्दछन् । विकास र समृद्धिका संवाहकहरु पनि निजामती कर्मचारीहरु बन्न सक्नु पर्दछ । नीति निर्माताहरूलाई यस सेवाका नेतृत्व तहमा रहनेहरूले आफ्नो क्षमता र योग्यताको आधारमा इमान्दारितापूर्वक सहयोग गर्नु पर्दछ । सरकारका नीति योजना तथा कार्यक्रमहरू तर्जुमाको अवस्थामा विशेषज्ञको रुपमा सहयोग पुर्‍याई कार्यान्वयन चरणमा प्रत्यक्ष संलग्नता यस्ता संयन्त्रबाट राज्यले अपेक्षा गरिराखेको हुन्छ । 

देशका सबै प्रकारका जात, जाति, वर्ग, भाषा, क्षेत्र, समुदायको राज्यका क्रियाकलापहरूमा समान र अर्थपूर्ण सहभागिता प्रदर्शन गराउन संयन्त्र सफल हुनुपर्दछ । सामाजिक न्याय र समावेशताको गन्तव्य प्राप्तगर्न क्रियाशीलता दिन सक्नुपर्दछ । संविधान लगायतका देशका कानुनहरूको निष्पक्ष र प्रभावकारी कार्यान्वयन गर्दै नागरिक अधिकारको संरक्षण व्यवहारिक रुपमा नै गर्न इमान्दारितापूर्वक कार्य सम्पादन हुनु पर्दछ । नागरिकहरूको सहभागिताको गुणस्तरीय र अर्थपूर्ण प्रवद्र्धनको वातावरण तयार हुनु अत्यावश्यक मानिन्छ । नागरिकहरूका बीचको सद्भाव कायम गर्दै राष्ट्रिय एकताका पक्षमा सकारात्मक परिणामका लागि निजामती कर्मचारीहरूको इमान्दार प्रयास हुनुपर्दछ । यस परिस्थितिमा मात्र गणतान्त्रिक व्यवस्थाको प्रवद्र्धनको महसुस आम नागरिकहरुले गर्न सक्छन् । 

निजामती कर्मचारी संयन्त्रलाई सरकारले उनीहरूको मनोबल उच्च बनाई सक्षमताको विकास गर्नुपर्दछ । यसका लागि राष्ट्रसेवक कर्मचारीहरूले राज्यबाट प्राप्त गर्ने अधिकारहरू लोकतान्त्रिक गणतन्त्रले सबै प्रकारका संवैधानिक कानुनी तथा पेशागत अधिकारहरु प्रदान गरी पूर्णरुपमा सुरक्षा प्रदान गर्नु पर्दछ । यी अधिकारहरुमा योग्यताका आधारमा सबै नेपालीहरुलाई निजामती सेवामा प्रवेशगर्ने समान अवसर प्राप्तगर्ने प्रावधान र इमान्दारिताका  साथ व्यवहारमा परिणत गरिदिनुपर्दछ । कुनै पनि आधारमा भेदभाव गरिनु हुँदैन । संरचनामा सेवाको सुरक्षाको प्रत्याभूति गरिदा राजनीतिक उथलपुथलको परिणामका कारण उनीहरूको सेवा सम्बन्धी सुरक्षामा  कुनै पनि प्रकारको चुनौतीको अवस्था बन्न दिनु हुँदैन । वृत्ति विकासका लागि न्यायोचित निष्पक्ष अवसर प्रदान गर्नु जरुरी हुन्छ । यसबाट सुयोग्य र दक्ष जनशक्तिको विकास सम्भव हुन्छ । पेसागत हकहितका प्रवद्र्धन गर्नका लागि सरकार सदैव तत्पर रहनुपर्दछ । तर यो अधिकारका नाममा दलीय प्रभाव निजामती सेवामा ग्राह्य हुँदैन । कार्य वातावरणको सुरक्षा प्रदान गरी सम्मानपूर्वक आफ्ना कर्तव्यप्रति गम्भीर बन्न संयन्त्रलाई मार्गप्रशस्त हुनु पर्दछ, गर्नुपर्दछ । पेशाप्रतिको मर्यादा कर्तव्यपालनका सन्दर्भमा गरिने न्यायोचित व्यवस्थाका साथै यही प्रकारका नागरिकहरूका हक अधिकारहरूले निजामती संयन्त्र सुसज्जित हुँदा मात्र यो संयन्त्रले उच्च मनोबलका साथ कर्तव्य निर्वाह गर्न सक्दछ । निजामती राष्ट्रसेवकका अधिकारहरू र उनीहरूले सम्पादन गर्ने कर्तव्यहरूका आधारमा सौहार्दपूर्ण अवस्था निर्माण गर्नसक्ने सक्षम निजामती संयन्त्रले गतिशीलता प्रदान गर्दै लोकतान्त्रिक गणतन्त्रप्रति आस्था राख्ने नागरिकहरुको वृद्धि हुँदा र गणतन्त्रलाई सम्मानित र स्वीकार्य बनाउन यो संयन्त्रले कोशेढुङ्गाका रुपमा भूमिका निर्वाह गर्न सक्नु पर्दछ । 

निजामती कर्मचारी संयन्त्रलाई सरकारले उनीहरूको मनोबल उच्च बनाई सक्षमताको विकास गर्नुपर्दछ । यसका लागि राष्ट्रसेवक कर्मचारीहरूले राज्यबाट प्राप्त गर्ने अधिकारहरू लोकतान्त्रिक गणतन्त्रले सबै प्रकारका संवैधानिक कानुनी तथा पेशागत अधिकारहरु प्रदान गरी पूर्णरुपमा सुरक्षा प्रदान गर्नु पर्दछ ।

लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली भएका देशहरूमध्ये कार्यकारणी अधिकारसहितको राष्ट्रपति र कार्यकारणी अधिकार प्रधानमन्त्रीमा रही आलङ्कारिक वा संवैधानिक राष्ट्रपति भएका देशहरुमध्ये कुन कुन देशमा यो गणतान्त्रिक प्रणाली बढी सफलभएको देखिन्छ रु यसको अध्ययन र विश्लेषण गर्दा स्वतन्त्र निर्वाचन, कानुनी शासन, प्रेस स्वतन्त्रता, भ्रष्टाचारको स्तर, नागरिक अधिकार, सत्ता हस्तान्तरणको स्थायित्व आदिलाई सूचकका रुपमा लिई अनुसन्धानहरू गरिएका छन् । यी सूचकहरूका आधारमा अध्ययन अनुसन्धान गर्ने ‘इकनमिक इन्टिलीजेन्स युनिट’, ‘डेमोक्रेटिक इन्डेक्स’, ‘फ्रिडम हाउस’, ‘ट्रान्सपरेन्सी इन्टरनेसनल’ आदिको नाम अग्रपंक्तिमा आउँछन् । यी संस्थाहरूको अध्ययनको निष्कर्षको विश्लेषण गर्दा अर्ध राष्ट्रपतीय प्रणाली अवलम्बन गरेको देश फिनल्यान्ड सफल देखिएको छ । प्रत्यक्ष रूपमा नै सङ्घीय  लोकतान्त्रिक शासन प्रणाली भएको देश स्विजरल्याण्ड पनि सफल छ । संसदीय गणतन्त्र भएका देशहरु जर्मनी, आयरल्याण्ड र अस्ट्रियाले पनि सुशासन प्रदान गर्न सफल भूमिका निर्वाह गरिराखेका छन् । 

कार्यकारी राष्ट्रपति भएको देश संयुक्त राज्य अमेरिकाले विश्वमै लोकतान्त्रिक शासन प्रणालीको नेतृत्वदायी भूमिका निर्वाह गरिराखेको छ । दक्षिण कोरियाले पनि राष्ट्रपतीय प्रणाली अवलम्बन गर्दै पाँच दशकको अवधिमा आफ्नो आर्थिक तरक्की अत्यन्त द्रुतगतिमा गरी जापानसँग प्रतिस्पर्धा गरिराखेको छ । 

संसदीय प्रणाली अवलम्बन गरिएका देशहरुमा लोकतन्त्रको स्थायित्व अत्याधिक भएको पाइन्छ । अधिकांश गणतन्त्र भएका देशहरुले राष्ट्रपतिलाई आलङ्कारिक बनाई नागरिकप्रति प्रत्यक्ष रुपमा जवाफदेहीता प्रदान गर्ने प्रधानमन्त्रीको व्यवस्था गरेका छन् । नेपालको व्यवस्था पनि संसदीय गणतन्त्रात्मक नै हो । यो प्रणाली सबैभन्दा बढीसफल विश्व परिवेशमा देखिँदै गएको छ । 

निष्कर्षः

लामो सङ्घर्ष, जनआन्दोलन र बलिदानपछि नेपाली जनताले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका हुन् । यसले नेपाली जनतालाई सार्वभौम सत्ताको वास्तविक अनुभूति गराएको छ । यद्यपि गणतन्त्रको सफलताको लागि केवल व्यवस्था परिवर्तन मात्र पर्याप्त हुँदैन । राजनीतिक स्थिरता सुशासन कानुनी शासन र नागरिक सचेतना पनि उत्तिकै आवश्यक हुन्छ । गणतन्त्रलाई प्रभावकारी बनाउन राजनीतिक दल नागरिक समाज र आमजनताले समान रुपमा जिम्मेवारी निर्वाह गर्नुपर्दछ । 

अन्त्यमा लोकतन्त्रको स्थायित्व समावेशीता र प्रभावकारिताका लागि गणतन्त्र अत्यावश्यक छ । गणतन्त्रले जनतालाई शासनको केन्द्रमा राख्दै समानता स्वतन्त्रता र न्यायको सुनिश्चितता गर्दछ । यसले लोकतन्त्रलाई केवल सैद्धान्तिक अवधारणामा सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्ने आधार प्रदान गर्दछ । लोकतन्त्रलाई सुधीर समृद्ध र जनमुखी बनाउन गणतन्त्रको संरक्षण र सशक्तीकरण नेपालको सन्दर्भमा पनि अपरिहार्य भएको छ । 

(लेखक नेपाल सरकारका पूर्वसचिव हुन्)

प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  ११:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update