काठमाडौँ । जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने स्याउको गुणस्तर परीक्षण तथा निर्यात सहजीकरणका लागि सार्वजनिक बिदाका दिनमा पनि गुणस्तर परीक्षण गर्ने भएको छ ।
गाउँपालिकाका कृषि अधिकृत मोहनसिंह महतले दिएको जानकारी अनुसार गाउँपालिकाबाट खटिएका कृषि प्राविधिकको प्रत्यक्ष निगरानीमा रेफ्रेक्टोमिटरको सहायताले स्याउमा रहेको गुलियोपन अर्थात् ब्रिक्स परीक्षण गर्ने जनाएको हो।
गाउँपालिकाका अनुसार स्याउमा आवश्यक ब्रिक्स परीक्षण गरिसकेपछि बजारयोग्य भएको एकिन भएमा कृषि विकास शाखाबाट उपलब्ध गराइने स्याउ निर्यात सिफारिससम्बन्धी सेवा प्रदान गरिनेछ। स्याउ निर्यातका क्रममा किसान तथा निर्यातकर्ताले भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै सार्वजनिक बिदाका दिन पनि सेवा सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
सार्वजनिक बिदाका दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सेवा उपलब्ध गराइने महतले जानकारी दिए । यसबाट स्याउ उत्पादन गर्ने किसान तथा स्याउ निर्यातकर्तालाई सहज हुने अपेक्षा गाउँपालिकाको छ ।
स्याउको गुणस्तर परीक्षणपछि मात्रै बजार तथा निर्यातका लागि सिफारिस गरिने भएकाले यस व्यवस्थाले जुम्ली स्याउको गुणस्तर कायम गर्न तथा बजारमा विश्वसनीयता बढाउनसमेत सहयोग पुग्ने गाउँपालिकाको भनाइ छ।



