काठमाडौँ । जुम्लाको तातोपानी गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिन थालेको छ ।
एकल महिलालाई यसअघिदेखि नै संघ, प्रदेश र स्थानीय सरकारले निर्वाह भत्ता दिने गरेपछि एकल पुरुषलाई भत्ता दिने अवधारणा पछिल्लो समय मात्रै आएको हो ।
सो गाउँपालिकाले कार्यविधि नै बनाएर एकल पुरुषलाई भत्ता दिने गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए ।
‘कार्यविधि तयार भएपछि गत आर्थिक वर्षदेखि भत्ता दिन थालिएको हो । यस वर्ष पनि भत्ता लिनको लागि छुटेका एकल पुरुषलाई गाउँपालिकामा नाम दर्ता गर्नको लागि सार्वजनिक सुचना पनि प्रकाशित गरिसकेका छौं,’ प्रमुख प्रशासकीय अधिकृत कठायतले वडापालिकासँग भने ।
गाउँपालिकाले गत आर्थिक वर्षमा करिब १६ जनालाई भत्ता दिएको थियो । यसवर्ष यो संख्या बढ्ने अनुमान गरिएको छ । सबै एकल पुरुषले भत्ता पाउने बारेमा जानकारी प्राप्त गर्न नसकेको हुन सक्ने अनुमान गर्दै गाउँपालिकाले सार्वजनिक सुचना नै प्रकाशन गरेको हो ।
भत्ता पाउनको लागि गाउँपालिकाले निवेदनको ढाँचा पनि सार्वजनिक गरेको छ । निवेदनको साथमा नागरिकता प्रमाणपत्रको प्रतिलिपी, पत्नीको मृत्यू भएको मृत्यूदर्ता प्रमाणपत्रको प्रतिलिपी र २ प्रति पासपोर्ट साइजको फोटो चाहिने गाउँपालिकाको भनाइ छ ।
कति पाइन्छ भत्ता ?
गाउँपालिकाले गत आर्थिक वर्षदेखि भत्ता दिन थालेको हो । पहिलो वर्ष वार्षिक ४ हजार रुपैयाँका दरले एकल पुरुष भत्ता वितरण गरिएको थियो । यसवर्ष भने यो रकम बढाएर वार्षिक ६ हजार (मासिक ५ सय) रुपैयाँ पुर्याइएको छ ।
भत्ता पाउनको लागि सम्बन्धित व्यक्तिले राज्यकोषबाट कुनै पारिश्रमिक, निवृत्तिभरण, सामाजिक सुरक्षा भत्ता वा यस्तै प्रकारका कुनै अन्य सुविधा प्राप्त गरेको छैन भनेर स्वघोषणा भने गर्नुपर्ने गाउँपालिकाको भनाइ छ ।





