काठमाडौँ । जुम्लाको तातोपानी गाउँपालिकाले उद्यम व्यवसायको लागत कम गर्न विद्युत खपत कम गर्ने मेसिन प्रयोगमा अनुदान उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाले वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र/दक्षिण एसियाली उप–क्षेत्रीय आर्थिक सहयोग/ग्रामीण जिविकोपार्जनका लागि नवीकरणीय उर्जा कार्यक्रमसँग समन्वय गरी उर्जा खपत कम गर्ने मेसिनरी खरिदमा ७० प्रतिशत अनुदानको व्यवस्था मिलाएको हो ।
गाउँपालिकाभित्रका उद्यम व्यवसायको लागत कम गरी प्रतिस्पर्धी क्षमता बढाउन यस्तो कार्यक्रम संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए ।
‘हाम्रो गाउँपालिकाभित्रका उद्यम व्यवसायले लघु तथा साना जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रयोग गरेका छन् र उनीहरु विद्युत कम खपत गर्ने मेसिन प्रयोग गर्न चाहन्छन् भने मेसिन खरिद लागतमा ७० प्रतिशत अनुदान उपलब्ध गराउन लागिएको छ । यसको लागि गत फागुन २५ गते १५ दिनको म्याद राखेर प्रस्ताव आव्हान पनि गरिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत कठायतले वडापालिकासँग भने ।
गाउँपालिकाले दिएको जानकारी अनुसार एउटा उद्यमीले बढीमा ५ लाख रुपैयाँसम्मको मेसिनरी खरिदमा अनुदान पाउने छ । गाउँपालिकाभित्रमा ३५ वटा जति उद्यम व्यवसाय रहेको गाउँपालिकाको तथ्यांक छ ।
‘प्रस्ताव मागिसकेका छौं । प्रस्ताव पेश गर्ने समय बाँकी रहेकोले कति प्रस्ताव पर्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन । तर, बढीमा ३५ वटा जति पर्छन् कि भन्ने अनुमान छ,’ प्रमुख प्रशासकीय अधिकृत कठायतले भने ।
सो गाउँपालिकाभित्र वेल्डिङ, पशुपन्छीको दाना बनाउने, जुस उत्पादन गर्ने, ओखरको तेल निकाल्ने लगायतका प्रमुख उद्यम व्यवसाय संचालनमा छन् ।
मेसिनरी खरिदमा अनुदान उपलब्ध गराउनको लागि गाउँपालिकाले कार्यविधि नै तयार पारेको छ ।
अनुदान कार्यक्रममा सहभागी हुनको लागि हस्तलिखित निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपी, व्यवसायको स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपी, उत्पादनमुलक उर्जा प्रयोगका लागि अनुदान माग फाराम, हालसालै विद्युत महसुल तिरेको रसिदको प्रतिलिपी र सामान्य व्यवसायको पुष्ट र भूमि सम्बन्धी जानकारीको प्रतिलिपी जस्ता कागजात आवश्यक पर्ने गाउँपालिकाको भनाइ छ ।







