काठमााडौँ । अछाम जिल्लाको रामारोशन गाउँपालिकाले कालापानी सोमरस बनाउने भएको छ । रामारोशनको रैथाने मदिरा कालापानीलाई ब्राण्डिङ गरी पर्यटन र ग्रामीण रोजगारी प्रवद्र्धन गर्ने गाउँपालिकाको लक्ष्य छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति कार्यक्रममा यस्तो विषय समावेश छ ।
कालापानी सोमरस कालापानी क्षेत्रको रैथाने मदिराको मौलिक स्वाद र गुणस्तर सुनिश्चित स्थानीय मदिरा हो । यसलाई कालापानी सोमरसका रुपमा ब्राण्डिङ गरी नियम अनुसार दर्ता, प्याकेजिङ र स्थानीय सहकारी वा उद्यम समुह मार्फत व्यवसायिक उत्पादन गरी पर्यटन र ग्रामीण रोजगारीसँग जोडेर बजारीकरण एवम् प्रवद्र्धन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले जानकारी दिए ।
‘कालापानी क्षेत्रको रैथाने मदिराको मौलिक स्वाद र गुणस्तर सुनिश्चित कालापानी सोमरसका रुपमा ब्राण्डिङ गरी नियम अनुसार दर्ता, प्याकेजिङ र स्थानीय सहकारी उद्यम समुह मार्फत व्यवसायिक उत्पादन गरी यसलाई पर्यटन र ग्रामीण रोजगारीसँग जोडेर बजारीकरण एवम् प्रवद्र्धन गरिनेछ,’ गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै, गाउँपालिकाले ८१ बुँदे नीति तथा कार्यक्रम ल्याएको हो । नीति तथा कार्यक्रममा कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराउने, कृषि तथा पशुपक्षी बीमा कार्यक्रमलाई व्यापक रुपमा लागू गर्ने तथा रामारोशन ताल अवलोकनका लागि भ्यू टावर बनाउने जस्ता कार्यक्रम समावेश गरिएको छ ।
गाउँपालिकाले दिएको जानकारी अनुसार सबै वडाका स्वास्थ्य संस्थाहरुमा सुत्केरी कक्ष र आवाश गृहको व्यवस्था गर्ने, एक शिक्षक एक एआई स्किल अभियान संचालन गर्ने, सबै वडामा बाह्रैमास चल्ने सडक निर्माण गर्ने लगायतका कार्यक्रम ल्याइएको छ ।
रामारोशन गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रमको पूर्णपाठ






