वीरगञ्जका मेयर सिंहसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी

 

काठमाडौँ । अदालतले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई धरौटीमा छाड्न आदेश दिएको छ।

पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले सोमबार मेयर सिंहलाई दुई वटै कसुरमा धरौटीमा छाड्न आदेश दिएको हो ।

मेयर सिंहमाथि झुटा विवरण पेस गरी नागरिकता बनाएको कसुरमा १५ हजार रुपैयाँ र लिखत सम्बन्धी कसुरमा ४ लाख रुपैयाँ धरौटी माग भएको छ ।

मेयर सिंहविरूद्ध जेठ ८ गते पक्राउ पुर्जी जारी भएको थियो। उनलाई प्रहरीले सोमबार बिहान पर्साको ठोरीबाट पक्राउ गरी अदालतमा पेस गरेको हो।

पर्सा जिल्ला अदालतले लिखत सम्बन्धी मुद्दामा राजेशमान, सिन्धुपाल्चोकको इन्द्रावती नगरपालिकाकी रिता भट्टराई र वीरगञ्ज महानगरपालिकाका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी राय विरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

नगरप्रमुख सिंहले रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई छोरी बनाएर फर्जी जन्मदर्ताको आधारमा नागरिकता बनाएर लिखित सम्बन्धी कसूर गरेको आरोप छ। अर्काकी छोरीलाई आफ्नो भनी जन्मदर्ता गरेर नागरिकता, राहदानी बनाई विदेश पठाएको आरोप मेयर सिंहमाथि लागेको छ।

 

प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update