Odapalika - The Fourth Estate - चौथो अंग
पर्साको वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यू आदेश जारी

वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका क्षेत्रमा पछिल्लो शान्तिसुरक्षालाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आव बिहान ९ः ४५ बजेदेखि लागू हुनेगरी महानगरको चार किल्ला तोकेर कर्फ्यू आदेश जारी गरेका हुन् ।

आइतबार वीरगञ्ज महानगरको श्रीपुर क्षेत्रमा पार्किङको विषयमा भएको सामान्य विवादबाट सुरु भएको घटनाले क्रमशः दुई समुदायबीच तनाव बढाएपछि जिल्ला सुरक्षा समितिले सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको हो । 

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्साको वीरगञ्ज महानगरभित्र चार किल्ला तोकेर कर्फ्यू आदेश गरिएको बताए ।

प्रशासनले पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सियानदी, उत्तरमा गण्डक चोक र दक्षिणतर्फ शंकराचार्य गेट सीमना तोकेर कसैले आवतजावत गर्न कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाउनेगरी कर्फ्यू आदेश जारी गरिएको छ ।

जिल्ला प्रशासनले कर्फ्यू आदेश अवधिभरमा अत्यावश्यक सवारीसाधनहरू, एम्बुलेन्स, दमकल, शवबाहन, स्वास्थ्यकर्मीका सवारीसाधन, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परिक्षार्थी एवं परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटकका सवारीसाधन, कूटनीतिक नियोग र मानवअधिकारकर्मी र हवाई टिकटको आधारमा हवाई यात्रुको आवागमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण हुने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update