काठमाडौँ । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।
चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेर निःशुल्क स्वास्थ्य बीमा गरिन लागिएको हो ।
गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने अपाङ्ता भएका व्यक्तिहरुलाई स्वास्थ्य बीमा कार्यक्रम मार्फत स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने उदेश्यले निःशुल्क स्वास्थ्य बीमा गराउन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद दुलालले जानकारी दिए ।
गाउँपालिकाले समुदायमा आधारित पुनःस्थापना सहयोग कार्यक्रम मार्फत स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन अपाङ्गता भएका व्यक्तिहरुलाई सुचना पनि जारी गरेको छ । जेठ १७ गते जारी गरिएको सुचनामा सात दिनभित्र सम्पर्क गर्न सरोकारवालालाई भनिएको छ ।
यो कार्यक्रममा सहभागी हुनको लागि अपाङ्गता परिचयपत्रको प्रतिलिपी, नेपाली नागरिकताको प्रतिलिपी वा जन्मदर्ता प्रमाणपत्र, पासपोर्ट साइजनको फोटो र पारिवारिक विवरण उपलब्ध गराउनु पर्ने गाउँपालिकाको भनाइ छ ।





