काठमाडौँ । सरकारी कार्यालयमा तपाईंले कुनै गुनासो गर्नुभयो भने त्यो गुनासो त्यही कार्यालयसँग सम्बन्धित हुन्छ र सोही कार्यालयले सम्बोधनको प्रयत्न गर्छ ।
तर, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गुनासो गर्ने एक जना यस्ता व्यक्ति पनि भेटिए, जसको गुनासो सम्बोधनको लागि ७७ वटै जिल्लाका जिल्ला समन्वय समिति र ७५३ वटै स्थानीय सरकारमा पत्र पुगेको छ ।
यसरी गुनासो गर्ने व्यक्ति उदय थापा हुन् । उनी को हुन्, कहाँका मान्छे हुन्, के पेशा व्यवसायमा आवद्ध छन् भन्ने जस्ता उनको परिचयसँग सम्बन्धित विषय भने केही खुल्दैन । तर, मन्त्रालयले सबै (७५३ वटै) स्थानीय सरकारलाई पत्राचार गरिदिनू भनेर ७७ वटै जिल्ला समन्वय समितिलाई लेखेको पत्रमा उनको नाम भने समावेश छ ।
गुनासो गर्ने उदय थापाको गुनासो दर्ता भएपछि मन्त्रालयले जेठ १८ गते सबै जिल्ला समन्वय समितिलाई पत्राचार गरेको छ । थापाको गुनासो बेरुजु फछ्र्योटसँग सम्बन्धित छ । उनले असुल उपर गर्नुपर्ने बेरुजु असुल उपर गराइ पाउ भनेर मन्त्रालयमा गुनासो दर्ता गरेको आसय मन्त्रालयले जिल्ला समन्वय समितिलाई पठाएको पत्रमा देखिन्छ ।
‘स्थानीय तहहरुमा असुल उपर गर्नुपर्ने बेरुजु बढ्दै गएको र असुल उपर गर्नुपर्ने बेरुजु कायम भएका कर्मचारीहरुले उक्त बेरुजु फरफारक नगरी कार्यालयमा नियमित कार्य समेत गर्दै आएको विषय यस मन्त्रालयको स्थलगत अन्तरक्रियाबाट देखिएको छ । यस सन्दर्भमा उदय थापाबाट गुनासो समेत प्राप्त हुन आएकोले सबै स्थानीय तहहरुमा असुल उपर गर्नुपर्ने बेरुजु तत्काल दाखिला गराउन पत्रिपत्र गरी यस मन्त्रालयलाई जानकारी गराउनु हुन अनुरोध छ,’ मन्त्रालयले जिल्ला समन्वय समितिहरुलाई पठाएको पत्रमा उल्लेख छ ।

असुल उपर गर्नुपर्ने बेरुजु भनेको कुनै कर्मचारी वा स्थानीय तहका पदाधिकारीले रकम लिएको तर त्यससँग सम्बन्धित प्रमाण तथा कागजात पेश नगरेको वा फिर्ता गर्नुपर्ने रकम फिर्ता नगरेको भन्ने हो ।





