रास्कोट नगरपालिकामा एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम हुँदै

कालीकोट । कालीकोटको रास्कोट नगरपालिकामा आधारभूत तह (कक्षा १-३) को एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम सञ्चालन हुने भएको छ।

नगर कार्यपालिकाको कार्यालय अन्तर्गतको शिक्षा, युवा तथा खेलकुद शाखाले आज एक पत्र जारी गर्दै तालिममा सहभागी हुनका लागि शिक्षक छनोट गरी पठाउन नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई अनुरोध गरेको छ।

पठनपाठनलाई थप प्रभावकारी र पाठ्यक्रम अनुकूल बनाउने उद्देश्यले यो तालिम आयोजना गरिएको नगरपालिकाले जनाएको छ।

तालिम प्राप्त नगरेका शिक्षकले प्राथमिकता पाउने

नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत खेमराज शाहीका अनुसार हालसम्म यस्तो तालिम नलिएका शिक्षकहरूलाई प्राथमिकता दिइनेछ। यसका लागि प्रत्येक सामुदायिक विद्यालयबाट प्राथमिक तहमा अध्यापन गराउने एक एक जना शिक्षक छनोट गरी पठाउन पत्रमार्फत निर्देश गरिएको छ।

तालिम यही जेठ २३ गतेदेखि जेठ २५ गतेसम्म बिहान १०  बजेदेखि रास्कोट नगरपालिकाको सभा हलमा हुने छ । 

यो तालिमले प्राथमिक तहको शिक्षण सिकाइ क्रियाकलापलाई थप गुणस्तरीय बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास शिक्षा शाखाले लिएको छ। उक्त पत्रको बोधार्थ सम्पूर्ण प्रधानाध्यापकहरूलाई जानकारीका लागि र सूचना प्रविधि अधिकृतलाई वेबसाइटमा अपलोड गर्नका लागिसमेत पठाइएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update