आमचोक गाउँपालिकाको अनौठो सुचनाः जो पहिला आउँछ, उसले भुक्तानी पाउँछ

 

काठमाडौँ । भोजपुर जिल्लाको आमचोक गाउँपालिकाले अनौठो सुचना सार्वजनिक गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेत र लेखा अधिकृत विनोद खत्रीको हस्ताक्षर रहेको सुचनामा निर्माण सम्पन्न भइसकेका आयोजनामा पनि जो पहिला आउँछ उसैले भुक्तानी पहिला पाउँछ भन्ने आशय व्यक्त गरिएको छ ।

संघ सरकारले वित्तीय समानीकरणको अनुदान कटौति गरिरहेकोले आवश्यक कागजात पुर्याएर पहिला आउनेलाई प्राथमिकतामा राखेर भुक्तानी दिइने सुचनामा उल्लेख छ ।

‘यस आमचोक गाउँपालिकाको आ.व. २०८२।०८३ को स्वीकृत वार्षिक बजेट अन्तर्गत यसै आ.व. मा सम्झौता भएका योजना तथा कार्यक्रम एवम् विगतमा सम्झौता भएका बहुवर्षीय योजना तथा कार्यक्रम तोकिएको म्यादभित्र सम्पन्न गर्न यस अघि नै विभिन्न मितिमा जानकारी गराइएकोमा हालसम्म नेपाल सरकार समानीकरण अनुदान अन्तर्गत यस गाउँपालिकालाई प्राप्त हुने रकममा ९ प्रतिशत कटौती भइसकेकोले गाउँपालिका क्षेत्रभित्र संञ्चालित योजनाहरुको कार्य सम्पन्न गरी पहिले कागजात पेश गर्नेलाई भुक्तानीमा पहिलो प्राथामिकता दिइने व्यहोरा जानकारीको लागि अनुरोध छ,’ सुचनामा उल्लेख गरिएको छ ।

गाउँपालिकाले विगत वर्षको अनुभवका आधारमा स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (सुत्र) अन्तिम समयमा कामको चापले ढिलो चल्ने, इएफटी  समयमा नहुने, अन्तिम समयमा मौसमी प्रतिकुलताले अनुगमनमा जान असहज हुने जस्ता समस्या उत्पन्न हुनसक्ने र सम्पन्न गरेका योजनाहरुको भुक्तानी गर्न कठिनाई हुनसक्ने भएकाले सम्बन्धित सरोकारवाला (सबै) ले आगामी असार १० सम्ममा कार्यालयमा आवश्यक कागजातहरु पेश गरी योजना तथा कार्यक्रमहरुको फरफारक गर्न/गराउन पनि भनेको छ । 
aamchok-notice-1780828649.jpg
 यति मात्रै होइन, समयमा कागजात पेश नभए भुक्तानी नै नहुनेसम्मको चेतावनी गाउँपालिकाले दिएको छ ।

‘तोकिएको समयसीमा भित्र योजना तथा कार्यक्रमहरुको कागजात पेश नभई योजना तथा कार्यक्रमको भुक्तानी नभएमा यस कार्यालय जवाफदेही नहुने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ,’ सुचनामा उल्लेख छ ।

गाउँपालिकाले जेठ २० गते सुचना प्रकाशन गरेको हो । सुचनामा गाउँपालिकाका सबै शाखा, सबै वडा कार्यालयहरु, सबै सामुदायिक विद्यालयहरु, सबै निर्माण व्यवसायीहरु, सबै संघ/संस्था/उपभोक्ता समिति तथा सम्बन्धित सरोकारवालालाई सम्बोधन गरी सुचना प्रकाशन गरिएको हो ।

 

प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update