खोटेहाङ गाउँपालिकाले गर्‍यो ४ कृषकसहित विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कृत

खोटाङ । खोटाङ जिल्लाकाे खोटेहाङ गाउँपालिकाले चार कृषकसहित उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी तथा संस्थालाई नगदसहित पुरस्कृत गरेको छ । 

गाउँपालिकाको कार्यालयले आइतबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका अवसरमा यहाँका कृषक, विद्यार्थी, शिक्षक, विद्यालय गरी चार/चार, तीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सात कर्मचारी तथा एउटा निर्माण उपभोक्ता समितिलाई पुरस्कृत गरिएको हो ।  

कृषकतर्फ सबैभन्दा बढी अन्नबाली फलाउने वडा नं ७ खोटाङबजारका कृषक तुलसीराम चौलागाईँ, फलफूल खेतीतर्फ सबैभन्दा बढी उत्पादन गर्ने वडा नं ४ बडकादियालेका सुरेश अछामी, नगदेबालीतर्फ वडा नं ८ सिम्पानीका सुवाश खड्का र पशुपालनतर्फ वडा नं १ लिकुवापोखरीका दुर्गाबहादुर खड्कालाई पुरस्कृत गरिएको हो । पुरस्कृत कृषकलाई जनही नगद १५ हजार रुपैयाँको साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं ५ चिप्रिङका अध्यक्ष किरण राईले जानकारी दिए ।

विद्यार्थीतर्फ सिद्ध आधारभूत विद्यालय, कक्षा–५ मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण सिम्रण गुरुङ, भगवती दिनानाथ माध्यमिक विद्यालय कक्षा–८ की सम्झना राई, माध्यमिक शिक्षा परीक्षामा (एसइई) मा सबैभन्दा बढी अङ्क ल्याएर उत्तीण हुने सोही विद्यालयका अनिश फुयाँल र कक्षा–१२ मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण गर्ने नवराज श्रेष्ठ पुरस्कृत भएका छन् । विभिन्न तहमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण भएकामा पुरस्कृत विद्यार्थीलाई जनही सात हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । 

शिक्षकतर्फ माध्यमिक विद्यालय तहमा सिम्पानी माध्यमिक विद्यालयका शिक्षक कृष्णप्रसाद घिमिरे, निम्नमाध्यमिक विद्यालय तहमा देवीस्थान आधारभूत विद्यालय बडकादियालेका किरण राई र प्राथमिक विद्यालय तहमा महाकन्या आधारभूत विद्यालय वाप्लुखाका पेशलकुमार राई तथा बालविकास केन्द्रतर्फ भगवती दिननाथ माध्यमिक विद्यालयकी पूजन अधिकारी पुरस्कृत भएका छन् । पुरस्कृत भएकाहरूलाई जनही नगद सात हजार रुपैयाँको साथमा प्रमाणपत्र प्रदान गरिएको थियो । 

यस्तै, वडा नं २ वाप्लुखाका महेन्द्रोदय माध्यमिक विद्यालयका अध्यक्ष दिपेन थुलुङ र समाजकाली आधारभूत विद्यालय वाप्लुखाका अध्यक्ष इन्द्रहाङ राई र पञ्चकन्या आधारभूत विद्यालय नराहा इन्द्रेणीपोखरीका अध्यक्ष श्रीकुमार राईलाई पुरस्कृत गरिएको थियो । उहााँहरूलाई जनही नगद सात हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ । 

यसैगरी सप्तकन्या माध्यमिक विद्यालय चिप्रिङ, सरस्वती आधारभूत विद्यालय लिकुवापोखरी, चौतारेडाँडा आधारभूत विद्यालय इन्द्रेणीपोखरी र बालबाटिका आधारभूत विद्यालय सावाकटहरेलाई पुरस्कृत गरिएको छ । पुरस्कृत विद्यालयलाई जनही दश हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ । 

कर्मचारीतर्फ गाउँपालिकाको कार्यालयमा कार्यरत इन्जिनियर सञ्जय चौधरी, वडा नं ४ का वडासचिव मनिषा गिरी र सिम्पानीस्थित स्वास्थ्यचौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक नवराज राईलाई जनही रु सात हजारसहित पुरस्कृत गरिएको गाउँपालिकाका सूचना अधिकारी रोशन पौडेलले जानकारी दिए ।

यस्तै, स्वास्थ्यचौकी खोटाङबजारका कार्यालय सहयोगी नारायण श्रेष्ठ, वडा नं ६ इन्द्रेणीपोखरीका सहयोगी रामचन्द्र राई र सावानागी आधारभूत विद्यालय सावाकटहरेका सहयोगी हाकिमराज मगरलाई जनही सात हजार रुपैयाँसहित सम्मान गरिएको छ । 

यसैगरी विणा माध्यमिक विद्यालय लिकुवापोखरीका लेखा कर्मचारी जगतबहादुर कार्कीलाइ रु सात हजार र मेर्ला गोरेटो बाटो निर्माण उपभोक्ता समिति इन्द्रेणीपोखरीलाई  दश हजार रुपैयाँसहित सम्मान गरियो । रासस

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update