काठमाडौँ । संखुवासभाको धर्मदेवी नगरपालिकाले वडा नं. ८ मा अरुण नदीले थुपारेको बालुवा उत्खनन् असारदेखि भदौसम्म पूर्ण रुपमा रोक लगाएको छ ।
नगरपालिकाले सो स्थानको अक्करको भिरको उत्तरतर्फको नदी किनार आसपास क्षेत्रबाट ९४ हजार ८०७ क्युविक फिट नदिजन्य पदार्थ बिक्री गर्ने कार्य प्रचलित कानून बमोजिम अमानत विधिमार्फत सञ्चालन गर्दै आएको थियो । नगरपालिकाले स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन, नदिजन्य पदार्थ उत्खनन्, सङ्कलन, बिक्री तथा व्यवस्थापन सम्बन्धी कार्यविधि तथा वातावरणीय संरक्षण सम्बन्धी व्यवस्था बमोजिम मनसुन अवधिमा उक्त क्षेत्रबाट हुने नदिजन्य पदार्थको उत्खनन्, सङ्कलन, ढुवानी तथा बिक्री कार्य मिति २०८३ असार १ गते देखि २०८३ भाद्र मसान्तसम्म पूर्ण रूपमा निषेध गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश गुरुङले दिएको जानकारी अनुसार सो अवधिसम्म निषेधि क्षेत्रबाट कुनै पनि व्यक्ति, फर्म, कम्पनी, निर्माण व्यवसायी, उपभोक्ता समिति वा अन्य निकायले नदिजन्य पदार्थ उत्खनन्, सङ्कलन, बिक्री, भण्डारण तथा ओसारपसार नगर्न/नगराउन सुचित गरिएको छ ।
‘सूचनाको अवज्ञा गरी अनुमति तथा स्वीकृति बिना नदिजन्य पदार्थ उत्खनन्, सङ्कलन, भण्डारण, ओसारपसार वा बिक्री–वितरण गरेको पाइएमा नेपालको संविधानको धारा २२६ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार, वातावरण संरक्षण ऐन, २०७६ तथा धर्मदेवी नगरपालिकाको ढुङ्गा, गिटी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८२ सम्बन्धी कानुनी व्यवस्था बमोजिम आवश्यक कारबाही गरी भएको क्षति तथा राजस्व हानीको रकम समेत सम्बन्धित व्यक्ति वा निकायबाट असुलउपर गरिन्छ,’ उनले भने ।





