धर्मदेवी नगरपालिकाले भन्यो– सामाजिक सुरक्षा भत्ता नवीकरण गरिसक्नू, नत्र नाम हट्छ

 

काठमाडौँ । सङ्खुवासभा जिल्लाको धर्मदेवी नगरपालिकाले चालु आर्थिक वर्षका लागि नियमित सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न अनिवार्य रूपमा परिचयपत्र नवीकरण गर्न आग्रह गरेको छ ।

लाभग्राहीहरूको विवरण नवीकरण नगरी भत्ता वितरण गर्न नमिल्ने भएकोले असोज मसान्तभित्रमा नवीकरण गरिसक्न आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश गुरुङले जानकारी दिए ।

यसको लागि नगरपालिकाले सार्वजनिक सुचना पनि प्रकाशन गरेको छ । सुचनामा वडा नं. १ देखि ९ सम्मका सम्पूर्ण लाभग्राहीहरूलाई चालु आर्थिक वर्षको असोज मसान्तभित्र आ–आफ्नो वडा कार्यालयमा गई नवीकरण गर्न गराउन अनुरोध गरिएको छ ।

तोकिएको समयभित्र नवीकरण नगरेमा सामाजिक सुरक्षा भत्ता प्रणालीबाट स्वतः नाम हटेर जाने नगरपालिकाले जनाएको छ।

आफै जानु नपर्नेहरु

सुचनामा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय परिचयपत्र नभए पनि निजको बुवा, आमा, संरक्षक वा स्याहारसुसार गर्ने व्यक्ति उपस्थित भई नवीकरण गराउन सकिने व्यवस्था गरिएको जानकारी दिएको छ ।

अन्य व्यक्तिहरूको हकमा भने बायोमेट्रिकसहित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने भनिएको छ ।

आवश्यक कागजातहरू

लाभग्राही विवरण नवीकरणको लागि नगरपालिकाले आवश्यक पर्ने कागजातको सुची पनि सार्वजनिक गरेको छ । नागरिकता प्रमाणपत्रको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र नम्बर/निस्सा कार्ड (अनिवार्य), सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेको परिचयपत्रको प्रतिलिपि, लाभग्राहीको तीनपुस्ते विवरण, पासपोर्ट साइजको फोटो (१ प्रति), बैंक खाता नम्बर जस्ता विवरण र कागजात आवश्यक पर्ने नगरपालिकाको भनाइ छ ।

विधवाको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्र र अर्को विवाह नगरेको वडाको सिफारिस, अपाङ्गता भएका व्यक्तिको हकमा नगरपालिकाबाट जारी अपाङ्गता प्रमाणपत्रको प्रतिलिपि तथा दलित बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रतिलिपि आवश्यक पर्ने नगरपालिकाले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update