नार्पा भूमि गाउँपालिकाले माग्यो खच्चर व्यवसायीसँग कर, ७ स्थानमा तिर्न पाइने

 

काठमाडौँ । मनाङ जिल्लाको नार्पा भूमि गाउँपालिकाले खच्चरबाट माल सामान ढुवानी गर्ने व्यवसायीलाई कर तिर्न आव्हान गरेको छ ।

गाउँपालिकाको आर्थिक ऐन २०८२ मा खच्चरबाट माल सामान ढुवानी गर्ने व्यवसायीले कर तिर्नुपर्ने व्यवस्था गरेकोले कर तिर्नको लागि सुचित गराइएको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाले सार्वजनिक सुचना प्रकाशन गरी नियमित रुपमा खच्चरबाट माल सामान ढुवानी गर्ने व्यवसायीले प्रतिखच्चर वार्षिक १ हजार रुपैयाँ र पटके रुपमा खच्चरबाट माल सामान ढुवानी गर्ने व्यवसायीले प्रतिखच्चर वार्षिक ५ सय रुपैयाँ कर तिर्न भनेको हो ।

‘यस नार्पा भुमि गाउँपालिका क्षेत्रभित्र खच्चरवाट माल सामान ढुवानी गर्ने सम्पूर्ण खच्चर व्यवसायीहरुले यस कार्यालयको आर्थिक ऐन, २०८२ मा तोकिएको देहायको दर रेटमा कर तिरि यस कार्यालयलाई सहयोग गर्नुहुनेछ भन्ने विस्वास लिएका छौँ,’ सुचनामा भनिएको छ ।

गाउँपालिकाले सम्बन्धित खच्चर व्यवसायीले आफूलाई पायक पर्ने स्थान वडा कार्यालय १, २,३, ४, ५, च्याँखु स्थित गाउँ कार्यपालिकाको कार्यालय र कोतो स्थित सम्पर्क कार्यालयमा समेत कर तिर्न सक्ने व्यवस्था गरिएको जानकारी गराएको छ ।

 

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update