प्रत्येक वर्ष सामुदायिक स्कुलका २०० किशोरीलाई आत्मरक्षा तालिम दिइरहेको सिद्धार्थनगर नगरपालिका

 

काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका सामुदायिक विद्यालयका किशोरीहरुलाई आत्मरक्षा तालिम दिइरहेको छ ।

सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीको आत्मबल बढाउने र किशोरी तथा महिलामा हुने हिंसा न्युनीकरणका सहयोग पुगोस भनेर यस्तो कार्यक्रम संचालन गरिएको नगरपालिकाकी उपमेयर उमा अधिकारीले बताइन् ।

‘विद्यालय उमेर समुहका किशोरीहरुमा पनि विभिन्न प्रकारको हिंसा हुने गरेका छन् । यस्तो हिंसा कमि गर्नको लागि कानुनी संरक्षण, चेतना अभिबृद्धिको साथमा सम्बन्धित किशोरीको आत्मबल पनि ठूलो कुरा हो भन्ने महसुस गरेर नगरपालिकाले २०७७/७८ सालदेखि सामुदायिक विद्यालयका किशोरीहरुलाई आत्मरक्षा तालिम दिदै आएको छ । यसको नतिजा एकदमै राम्रो छ,’ उपमेयर अधिकारीले वडापालिकासँग भनिन् ।

उपमेयर अधिकारीका अनुसार नगरपालिकाले वार्षिक बजेट र कार्यक्रम नै विनियोजन गरेर सामुदायिक विद्यालयका किशोरीको लागि आत्मरक्षा तालिम संचालन गर्ने गरेको छ । यसका लागि नगरपालिकाले वार्षिक ४ लाख रुपैयाँ जति बजेट विनियोजन गरेर कार्यक्रम संचालन गर्ने गरेको हो ।

‘प्रत्येक वर्ष १० वटा सामुदायिक विद्यालयका करिब २ सय किशोरीलाई आत्मरक्षा तालिम दिने गरिएको छ । अहिलेसम्म करिब १२ सय जति किशोरीले तालिम लिइसकेका छन्,’ उपमेयर अधिकारीले भनिन् ।

अहिले पनि किशोरीको लागि आत्मरक्षा तालिम कार्यक्रम संचालन भइरहेको छ । अहिले नगरपालिकाभित्रका चारवटा सामुदायिक विद्यालयमा संचालन भइरहेको तालिममा १९० जना किशोरी सहभागी भएको भैरहवा तेक्वान्दो क्लबका सचिव प्रकाशमान राजभण्डारीले जानकारी दिए । राजभण्डारी किशोरीलाई आत्मरक्षा तालिम दिने प्रशिक्षक पनि हुन् ।

प्रतिक्षणमा आत्मबल बढाउने, वार्मअप, बक्सिङ, किक जस्ता मार्सल आर्टका सामान्य विषयहरु सिकाइने उनले जानकारी दिए ।

‘सबैभन्दा ठूलो कुरा त उनीहरुलाई आत्मबल बढाउने प्रतिशक्षण दिइन्छ । यसबाहेक मार्सल आर्टका सामान्य विषयहरु सिकाउने गरिएको छ । यो सिकाइले पनि उनीहरुमा आत्मरक्षाको लागि ठूलो योगदान पुगेको पाइएको छ,’ प्रशिक्षक राजभण्डारीले वडापालिकासँग भने ।

प्रशिक्षण कार्यक्रमले किशोरीमा आत्मबल बढाउनुका साथै खेलप्रति आकर्षण समेत बढाएको प्रशिक्षक राजभण्डारीले बताए ।

नगरपालिकाका उपमेयर अधिकारीले नगरपालिका क्षेत्रभित्र धार्मिक विद्यालय (मदरसा) हरु भएपनि ती विद्यालयका विद्यार्थी तालिममा सहभागी नभएको बताइन् । यद्यपि, निजी विद्यालयमा अध्ययरत किशोरीहरुका लागि पनि यो कार्यक्रम विस्तार गर्नुपर्यो भनेर नगरपालिकामा माग आएको उनले सुनाइन् । 

 

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update