पोर्चुगल डीआर कंगोसँग बराबरीमा रोकियो

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा युरोपेली देश पोर्चुगल अफ्रिकी राष्ट्र डिआर कंगोसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

गएराति अमेरिकाको ह्युस्टन स्टेडियममा भएको समुह के अन्तर्गतको खेलमा पोर्चुगलले सुरुवातमै अग्रता लिएपनि जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो । 

पोर्चुगलका जोआओ नेभेसले पेड्रो नेटोको पासमा छैटौं मिनेटमै गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । 

तर ५२ वर्षपछि विश्वकपमा पुनरागमन गरेको डिआर कंगोले पहिलो हाफको अन्तिम समयमा बराबरी गोल फर्कायो । कंगोका योहान विसाले पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा बराबरी गोल गरेका थिए ।

फिफा विश्वकप इतिहासमा कंगोको यो पहिलो गोल र पहिलो अंक समेत हो ।

यसअघि सन् १९७४ मा जायरको नामबाट विश्वकप खेल्दा समूह चरणका तीनवटै खेलमा पराजित भएको थियो भने एक गोल पनि गर्न सकेको थिएन । 

यो समूहमा पोर्चुगल र डीआर कंगोसँगै कोलम्बिया र उज्बेकिस्तान रहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update