जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा

काठमाडौं। जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।

अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा भएको खेलमा जर्मनीलाई २–१ को गोल अन्तरले पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो ।

खेलमा पहिलो अग्रता भने जर्मनीले लिएको थियो । खेल सुरु भएको दोस्रो मिनेटमा लेरोय सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । 

त्यसपछि खेलको नवौं मिनेटमा इक्वेडरका निल्सन एङ्गुलोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । 

खेलको दोस्रो हाफको ७७ औं मिनेटमा इक्वेडरका  लियोगोन्जालो प्लाटाले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाए ।  त्यसपछि खेलमा थप गोल हुन सकेन र  इक्वेडरले जर्मनीमाथि जित निकाल्यो ।

गएराति नै भएको समुहको अर्को खेलमा कुरासाओविरूद्ध २–० को जित निकाल्दै आइभरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ ।

खेलमा आइभरी कोस्टका लागि दुवै गोल निकोलस पेपेले गरे । उनले खेलको सातौँ मिनेट र ६४ औँ मिनेटमा गोल गरेका हुन् ।

समूह ‘इ’ मा इक्वेडरसँग पराजित भएको जर्मनी ६ अंक जोड्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ भने समान अंक बनाएको आइभोरी कोस्ट गोलअन्तरका आधारमा उपविजेता बन्दै नकआउटमा प्रवेश गरेको छ । 

त्यस्तै इक्वेडर पनि तेस्रो भएका टोलीमध्ये उत्कृष्ट ८ मा पर्दै नकआउट चरणमा पुगेको छ ।

इक्वेडरले चार अंक बनायो । एक अंक जोडेको कुरासाओ भने प्रतियोगिताबाट बाहिरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार १२, २०८३  ०६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update