स्विट्जरल्यान्ड विश्वकपको नकआउट चरणमा

काठमाडौं। क्यानडालाई २–१ ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकप-२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । 

क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा आज भएको खेलमा घरेलु टोली क्यानडालाई २-१ गोलअन्तरले हराउँदै स्विट्जरल्यान्ड समूह ‘बी’को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

स्विट्जरल्यान्डको जितमा रुबेन वर्गासले गोल गरे । उनले खेलको ४६ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । 

खेलको ५७ औ मिनेटमा जोहान मान्जाम्बीले गोल गर्दै स्विट्जरल्यान्डको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७६औँ मिनेटमा क्यानडाका प्रमिस डेभिडले एक गोल गर्दै खेलमा फर्कने कोसिस गरे । 

तर खेलमा त्यसपछि गोल हुन सकेन र अन्ततः स्विट्जरल्यान्डले क्यानडामाथि २-१ गोलको जित निकाल्यो ।

स्विट्जरल्यान्डले तीन  खेलबाट सात अंक जोडेको छ । पराजित क्यानडा पनि समूह ‘बी’ को दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ । 

क्यानडाको चार अंक छ । यसै समूहमा रहेको बोस्निया एन्ड हर्जगोभिनाको पनि समान चार अंक रहेको छ।

गएराति नै भएको अर्को खेलमा बोस्निया एण्ड हर्जगोभिनाले कतारलाई पराजित गर्दै जित निकालेको थियो । 

अंक तालिकाको तेस्रो स्थानमा रहेको बोस्निया एन्ड हर्जगोभिनाको तेस्रो टोली बनेर नकआउटमा जाने सम्भावना भने कायमै रहेको छ । 

बोस्निया एण्ड हर्जगोभिनाले कतारलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । एक अंक बटुलेको कतार भने विश्वकप छनोटबाट बाहिरिएको छ । 

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update