काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकारको सम्वर्द्धनका लागि वामपन्थी शक्तिहरुबीच सहकार्य जरुरी भएको बताएका छन् ।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयमा आज यहाँ आयोजित विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ मा उहाँले परिवर्तित सन्दर्भमा कम्युनिष्ट शक्तिबीच सहकार्य आवश्यक भएको बताएका हुन् ।
संवैधानिक अधिकार रक्षाका निम्ति सबै राजनीतिक वामशक्तिबीच साझेदारी अपरिहार्य भएको उनको भनाइ थियो । उनले छाँडोभन्दा चाँडो एकता जरुरी भएको पनि बताए ।
‘चाँडोभन्दा चाँडो समान विचार भएका दल एकताबद्ध हुन जरुरी छ,’ दाहालले भने ।
विगतका कमीकमजोरीको समीक्षा गर्न आफू तयार रहेको उल्लेख गर्दै संयोजक दाहालले राष्ट्रका सामु उत्पन्न चुनौतीको सबै नेता तथा कार्यकर्ताले मिलेर सामना गर्नुपर्ने बताए । लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्न आफू तत्पर रहेको भन्दै उनले यस्तो सहकार्य शीघ्र हुनुपर्नेमा जोड दिए ।
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्ट एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिँदै युवापुस्ताको काँधमा ठूलो जिम्मेवारी आएको बताए । उनले देश र जनताको हितलाई केन्द्रमा राखेर कम्युनिष्ट शक्ति अगाडि बढ्नुपर्ने धारणा राखे ।
कम्युनिष्ट पार्टीहरूले आत्ममूल्याङ्कन गर्न ढिलो भएको धारणा व्यक्त गर्दै नेता नेपालले एकता नै बल हो भन्ने वास्तविकता बिर्सन नहुने बताए ।
नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरुबीच एकताको विकल्प नभएको बताए । एकताको प्रक्रिया प्रारम्भ गर्नुपर्नेमा उनको जोड छ ।





