अंग्रेजी माध्यमबाट पढाइरहेका गौशाला नगरपालिकाका पाँच सामुदायिक विद्यालयमा

 

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाका सात विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु भएपछि यहाँका अभिभावकलगायत विद्यार्थीको पहिलो रोजाइ नै सामुदायिक विद्यालय बन्दै गएको छ । 

गौशाला नगरपालिकामा ३२ वटा सार्वजनिक  विद्यालय छन् । पहिलो चरणमा पाँच विद्यालयमा अङ्ग्रेजीमा पढाइ सुरु गरिएको हो । यहाँ कक्षा १ देखि कक्षा १२ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेका कारण विद्यार्थीका बाबुआमा र छात्रछात्राको चाहना नै समुदायस्तरीय पाठशालामा पढ्ने रहेको छ ।

त्रिभुवन मावि गौशाला र जनता मावि भरतपुरखोरमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म, श्री मावि निगौलमा कक्षा ४ सम्म, जनता मावि रजखोरमा कक्षा ५ सम्म, श्री राष्ट्रिय मावि कान्तिवजारमा कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा पढाइ भइरहेको छ । 

‘कुनै समय अभिभावकको पहिलो रोजाइ निजी विद्यालय बन्ने गरेकोमा हाल समुदायगत विद्यालयले अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरेपछि अभिभावकको शिक्षामा लगानी बचत भएको बताउनुभयो,’ पूर्वशिक्षक भरतसिंहले भने ।

जनता मावि रजखोरका प्रधानाध्यापक अमोदकुमार साहले अभिभावकको इच्छाअनुसार बिद्यालयले  अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरुआत गरेको बताए । गौशाला नगरपालिकाले शिक्षामा एकरुपता  ल्याउनुपर्ने उनको सुझाव छ ।

नगरपालिकाले सामुदायिक विद्यालयमा अनिवार्य  अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउन आएको निर्देशनअनुरुप सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यममा पढाउन सुरुगरेको शिक्षा समितिका सदस्य जीतेन्द्रकुमार सिंहले बताए ।

श्री मावि निगौलका प्रधानाध्यापक सिंहले  नगरपालिकाबाट जारी गरिएको निर्देशनअनुरुप यहाँका समुदायगत बिद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन निःशुल्क दिन थालेपछि  पछिल्लो समयमा सार्वजनिक पाठशालाको चर्चा चुलिएको बताए ।

दरबन्दी मिलान, विद्यालय व्यवस्थापन समितिको सहयोगात्मक भूमिकालगायतका प्राविधिक पक्षलाई सम्बोधन  गर्दै अङ्ग्रेजी माध्यमको पढाइलाई  अभियानका रुपमा नगरपालिकाले नीति बनाएरै अगाडि बढने नगर शिक्षा अधिकृत सञ्जयकुमार सिंहले जानकारी दिए । 

गौशााला नगरपालिकाका नगरप्रमुख डा दीपेन्द्र महतोले शैक्षिक गुणस्तर प्रदान गर्नका लागि स्थानीय पालिकाले अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेको जानकारी दिए । विद्यालयमा तालिमप्राप्त शिक्षक, अत्यावश्यक पूर्वाधार, पाठ्यपुस्तकलगायतका आवश्यक शैक्षिक सामग्री प्रदान गर्दै अघि बढेको उनको भनाइ छ । रासस

 

प्रकाशित मिति: मंगलबार, असार २३, २०८३  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update