म आज एकदमै फरक र विलक्षण प्रतिभाका धनी एक व्यक्तिको विषयमा चर्चा गर्न खोज्दैछु । खासगरी मैले कहिलेकाहीँ नजिक गएर, कहिलेकाहीँ अलिकति दुरीबाट सुनेको, पढेको र विदेशमा पनि अनुभूत गरेको एकजना हाम्रो विशाल व्यक्तित्वका बारेमा चर्चा गर्न लागेको छु ।
हाम्रो उच्च शिक्षा क्षेत्रको, रसायनशास्त्र क्षेत्रको अथवा विशेष गरेर बायोकेमेस्ट्री वा बायोटेक्नोलोजीको क्षेत्रमा आजभन्दा धेरै अगाडि महत्वपूर्ण कामहरू सुरु गर्नुभएका हाम्रा आदरणीय विश्वनाथ प्रसाद (भीपी) अग्रवाल सरका विषयमा मैले चर्चा गर्न लागेको हो ।
आज हामी एउटा विशेष अवसरमा यहाँ एकत्रित भएका छौँ । यो केवल उत्कृष्ट शिक्षकहरूलाई पाँच विधामा सम्मानित गर्ने कार्यक्रम मात्रै होइन, यो ज्ञान, अनुसन्धान, समर्पण र समाजप्रतिको उत्तरदायित्वलाई सम्मान गर्ने अवसर पनि हो ।
यस पवित्र अवसरमा नेपालको विज्ञान जगतका अग्रणी व्यक्तित्व हाम्रा प्राध्यापक डाक्टर विश्वनाथ प्रसाद अग्रवालको प्राज्ञिक यात्रा, अनुसन्धान र योगदानको बारेमा आफूले अनुभूत गरेको सम्बन्धमा केही विचारहरू राख्न पाउनु मेरो लागि सौभाग्यको कुरा भयो ।
नेपाल र भारतबाट उच्च शिक्षा हासिल गरी उहाँले संयुक्त राज्य अमेरिकाको वाशिङ्गटन स्टेट युनिभर्सिटीबाट एग्रिकल्चरल केमेस्ट्रीमा विद्यावारिधि सम्पन्न गर्नुभयो । अध्यापनकै क्रममा केही अन्तरालपछि उहाँ जर्मनीमा हम्बोल््ट फेलोशिपमा जानुभयो र केही समय अनुसन्धानका कार्यहरू गर्नुभयो । र, फेरि नेपाल फर्किएर आफ्नो योगदान गर्न थाल्नुभयो । यसले उहाँको वैज्ञानिक क्षमता, अन्तर्राष्ट्रियस्तरको उत्कृष्टता र पहुँचलाई स्पष्ट सङ्केत गर्दछ ।
उहाँको उपलब्धी केवल विदेशी विश्वविद्यालयमा अध्ययन गर्नुमा मात्र सीमित रहेन । विदेशमा सिकेको ज्ञान, अनुसन्धान र अनुसन्धान संस्कृतिलाई आफ्नै मातृभूमिमा फर्काएर नेपालमा विज्ञानको विकासमा समर्पित गर्नु नै उहाँको वास्तविक योगदान हो । कठिन विषयहरू पढाउन सक्ने प्राध्यापकहरूको खडेरीको समयमा, तत्कालीन अवस्थामा केही विशेष विषयहरू, विषयभित्रका केही ‘स्पेसिफिक’ अप्ठ्यारा विषयहरू उहाँले पढाउनुभयो । म पनि विद्यार्थी रहेँ, म पनि केही लाभान्वित भएँ ।
त्यो बेलामा थ्यौरीटिकल केमेस्ट्री, अझ भनौँ थ्यौरीटिकल केमेस्ट्रीको पनि कोर पार्टमा ग्रुप थ्योरी जस्ता कुराहरू, स्टेरियो केमेस्ट्री जस्ता कुराहरू, इनान्सियोमरलाई थ्यौरीटिकल्ली व्याख्या गर्न उहाँले अध्यापन मात्रै गराउनु भएन कि त्यस सम्बन्धमा आफ्नो छोटो प्रयासबाट एउटा पुस्तक पनि लेख्नुभयो । जुन म भौतिकशास्त्रको विद्यार्थीको लागि समेत त्यो पुस्तक बुझ्नको लागि महत्वपूर्ण रहेको म सम्झन्छु ।
प्राध्यापक अग्रवालले नेपालमा अनुसन्धानलाई प्रयोगशालाबाट समाजसम्म पुर्याउने अभियानको नेतृत्व गर्नुभयो । उहाँले स्थापना गर्नुभएको रिसर्च ल्याबोरेटरी फर बायोटेक्नोलोजी एण्ड बायोकेमेस्ट्री नेपालको पहिलो निजी अनुसन्धान संस्था हो जस्तो मलाई लाग्छ । मैले यति पुरानो अनुसन्धान संस्था अरु भेटेको छैन । यो संस्था नेपालको पहिलो निजी अनुसन्धान संस्था मात्र नभई अग्रणी संस्थाको रूपमा परिचित भयो । यसमा मैले एउटा कुरा जोड्छु, त्यो बेलामा रकफेलर फाउन्डेशन (अहिले पनि हामीलाई थाहा छ निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरमा विज्ञानलाई प्रवद्र्धन गर्न र अनुसन्धान गर्न गर्ने एउटा दोस्रो ठूलो फाउन्डेशनको रूपमा हेरिन्छ । पहिलो गेट्स फाउन्डेशन भयो) मा निरन्तर आफ्नो प्रस्ताव प्रस्तुत गरेर सायद रकफेलर फाउन्डेशनले ल्याबका बहुमूल्य उपकरणहरूका लागि फन्डिङ गरेको नेपालमा सायद त्यो पहिलो थियो कि भन्ने मलाई लाग्छ ।
उहाँको प्रस्ताव सफल भएको थियो, त्यहाँबाट अनुमोदित भयो । महत्वपूर्ण उपकरणहरू देशका लागि हासिल भयो र सो उपकरणहरू युवा विद्यार्थीलाई उपलब्ध गराई उच्चस्तरको अनुसन्धान तथा त्यसबाट हुन सक्ने प्रकाशनहरू गराउन सक्नु उहाँको एउटा प्राज्ञिक नेतृत्वको विशेष विशेषता रह्यो ।
राज्यको सीमित स्रोत र चुनौतीपूर्ण परिस्थितिको बीच पनि अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान सम्भव छ भन्ने विश्वास उहाँले व्यवहारमै परिणत गर्नुभयो ।
म अगाडिको थोरै कुरा सम्झन्छु । १९९०–१९९१ को कुरा हो, नेपालमा भर्खरै बहुदलीय व्यवस्था आएको थियो । म विज्ञानको विद्यार्थी भएकोले सेन्ट्रल डिपार्टमेन्ट अफ फिजिक्समा पढ्थेँ । सेन्ट्रल डिपार्टमेन्ट अफ केमेस्ट्री हाम्रो नजिकैको डिपार्टमेन्ट थियो र त्यहाँ पनि मेरा एकदम अभिन्न मित्रहरू केमेस्ट्रीमा पढ्नेहरू हुनुहुन्थ्यो । त्यो बेलामा रसायनशास्त्रमा स्नातकोत्तर तहको परीक्षा सकिएपछि धेरै विद्यार्थी भीपी सरले कतै ल्याब बनाउनुभएको र त्यहाँ सिक्नको लागि विद्यार्थी जाने गरेको मैले सुनेको थिएँ मेरा केमेस्ट्रीका साथीहरूबाट ।
म मेरो एउटा मित्रलाई सम्झन्छु विपिन कुमार शाह, धनुषाको । उहाँले सो ल्याबमा काम गर्नुभयो । भीपी सरले थ्यौरीटिकल केमेस्ट्रीका थुप्रै कक्षाहरू लिनुभयो र सँगसँगै साथीले मलाई पनि खबर गरेर रसायनशास्त्र केन्द्रीय विभागमा उहाँले पढाउनुभएको केही थ्यौरीटिकल केमेस्ट्रीको क्लासहरू म सम्झन्छु । केही कक्षाहरू लिने मैले अवसर पाएँ ।
मैले सम्झँदा भीपी सरको थ्यौरीटिकल विषयलाई व्याख्या गर्ने कला र उहाँको प्रभावशाली अङ्ग्रेजी भाषा सम्झन्छु । र, उहाँको अनुशासन पनि । उहाँको कक्षामा ‘स्ट्रिक्टनेस’ पनि म फिल गर्छु । त्यसपश्चात् पनि मैले एउटा सेमिनारमा उहाँको मन्तव्य सुनेको थिएँ । मेरा मित्र अहिले अमेरिकाको बलिङ ग्रीन स्टेट युनिभर्सिटीको रसायनशास्त्र विभागमा हुनुहुन्छ । उहाँको पालामा थुप्रै नेपाली वैज्ञानिकहरू उत्पादन गर्न भीपी सरले संचालन गर्नुभएको ल्याब सक्षम भएको थियो । र अहिले देशमा पनि र देशभन्दा बाहिर थुप्रै ठाउँमा, अमेरिकन, क्यानेडियन युनिभर्सिटीहरूमा र युरोपका केही ल्याबहरूमा, जापान र कोरियाको ल्याबमा उहाँसँग प्रशिक्षित भएका, उहाँसँग सिकेर जाने र विभिन्न ठाउँहरूमा अनुसन्धान गर्दै योगदान गरिरहनुभएका थुप्रै उहाँका पूर्वविद्यार्थी हुनुहुन्छ । सुरु सुरुमा त यो कुरा अग्रवाल सरलाई गर्वको विषय लागेको कुरा भन्नुहुन्थ्यो, लेख्नु पनि भएको छ—‘मेरा विद्यार्थीहरू संसारभरि नै छन्’ भनेर । किनभने नौलो अनुसन्धानको अथवा नयाँ ज्ञान प्राप्तिको खोजले आखिरमा समस्त जगतलाई नै कल्याण गर्ने हो, जहाँबाट गरे पनि, यहाँ बसेर गरे पनि बाहिर गएर गरे पनि, यो भन्ने गर्नुहुन्थ्यो ।
तर पछि उहाँले कति धेरैलाई हामीले यहाँ बनाउँदै गर्ने, सिकाउँदै गर्ने र ती सबैजना बिस्तारै क्रमशः यहाँबाट बाहिर जाने र यहाँ फेरि हामीले बनाउनुपर्ने, त्यो अवस्थाले पनि उहाँलाई पछिल्लो दिनहरूमा अलि खिन्नता ल्याएको थियो । एउटा मन्तव्यमा उहाँले यो कुरा भन्नुभएको थियो, केन्द्रीय विभागभन्दा बाहिर एउटा कलेजमा एउटा सेमिनारमा ।
त्यसपछि उच्च शिक्षाको लागि म पनि यसरी बाहिर गएँ । त्यसपछिको चरणमा लगभग ८ वर्षसम्म कुनै पनि कार्यक्रममा उहाँलाई सिधै सुन्न पाइनँ । उहाँले एक ठाउँमा भन्नुभएको कुरा— राज्यले अनुसन्धानकर्मीहरूलाई देशमै टिकाउने पहलै गर्दैन, धेरै राज्यहरूले, डेभलपिङ नेसनहरूले । त्यसैले देशभित्रका समस्याहरू अनुसन्धानबाट निकाल्नुपर्ने कुराहरू समाधान गर्न सकिएको छैन । यो देखेर उहाँ दुःखी पनि हुने गर्नुहुन्थ्यो ।
दुई विशेष सन्दर्भमा उहाँलाई मैले सम्झिने गर्छु । म आफ्नो केमेस्ट्रीको विद्यार्थी नभए पनि एउटा सन्दर्भ मैले मेरो मित्रमार्फत उल्लेख गरिसकें । हाम्रो विभाग सँगसँगै टाँसिएको थियो र थ्योरेटिकल क्लासहरूको कुरा हुँदाखेरि मैले महिनामा एकचोटि अथवा दुईचोटि मेरो मित्रबाट खबर पाउने गर्थें । र पहिलो पटक मैले उहाँको ल्याबमा मित्रहरूकै माध्यमबाट एकपटक गएर हेर्न पाएको थिएँ । त्यो बेलामा उपकरणहरू देख्दाखेरि म अत्यन्तै प्रफुल्लित भएको थिएँ अथवा मलाई अचम्म पनि लागेको थियो । सम्भवतः मैले मोइस्चर सेन्सरहरू, सोल साइन्ससँग गरिने कुराहरू पहिलो पटक त्यहाँ देखेको थिएँ । सोल स्याम्पलरहरू देखेको थिएँ, त्यस्तै स्ट्रेस डिटेक्सन ग्लासेसहरू देखेको थिएँ, वेदर टेम्परेचर मिटरहरू देखेको थिएँ । त्यस्तै मास स्पेक्ट्रोमिटर पनि देखेको थिएँ । मास स्पेक्ट्रोमिटर हामी भौतिक शास्त्रको विद्यार्थीले पनि डिटेलमा पढ्ने गर्छाैं, तर त्यहाँ मैले देखेको थिएँ ।
दोस्रो सन्दर्भ मेरो लागि मर्मस्पर्शी छ । यो सन् २००३ को कुरा हो । अग्रवाल सरले पीएचडी गर्नुभएको थियो अमेरिकाको वासिङ्टन स्टेट युनिभर्सिटीबाट । म पनि पोस्टडक गर्नलाई त्यही युनिभर्सिटीमा गएको थिएँ । अग्रवाल सरले पीएचडी गरेर सकेर त्यहाँबाट गइसक्नुभएको २५–२६ वर्ष भइसकेको रहेछ । म पोस्टडक गर्न त्यहाँ एक वर्ष बसेको छु । सँगसँगै मैले अन्य ठाउँमा अन्य ल्याबहरूमा पनि, खासगरी हवाई आइल्याण्डमा अब्जरभेटरीहरूमा पनि बसेको छु । र, एउटा कुरा म स्मरण गर्छु, यो मैले एउटा आर्टिकलमा पनि लेखेको थिएँ धेरै वर्षअगाडी । त्यहाँ पुलम्यानमा मर्निङमा क्यान्टिन सञ्चालन गर्ने युगोस्लाभका एकजना वृद्धा थिइन् । उनको नाम इभाना थियो । त्यो बेला युगोस्लाभिया विभाजन हुने क्रममा थियो र धेरै आप्रवासीहरू अमेरिका आएको बेला एउटा परिवार पनि आएको थियो । मैले २००३ मा ती वृद्धालाई भेटेँ, उनी रिटायर भइसकेकी थिइन् । कुनै समय उनी त्यहाँ क्यान्टिन सञ्चालन गर्थिन् । । मैले भेटेको समयमा उनी रिटायर भएपनि त्यहाँ रेगुलर त्यहाँ वाक गर्ने गर्थिन् । म नेपाली हो, नेपालबाट आएको भन्ने थाहा पाएपछि उनले अन्य कुराहरू सँगसँगै सोधेकी थिइन्—‘डु यो नो बि अग्रवाल ?’ सुरुमा मैले अग्रवाल भनेर कसलाई भन्न खोजेको होला भनेर अनुमान नै गर्न सकिनँ किनभने त्यहाँ थुप्रै विभागका स्कलरहरूले अगाडि पढिसक्नुभएको हिस्ट्री थियो । तर, उनले भीपी अग्रवाल सरका बारेमा सोधेको थाहा पाएपछि मैले भेटेर पछि भनेको थिएँ— म चिन्दछु, मेरो गुरु हो, मैले केही कक्षाहरू उहाँको लिएको छु । यसरी उहाँको आफ्नो उपस्थितिको प्रभाव त्यहाँ कस्तो रहेछ भन्ने मैले अनुभूत गरें, किनभने २५ वर्षपछि पनि एकजना वृद्धाले ‘बी अग्रवाल’ भनेर उहाँलाई सम्झिनुभएको थियो ।
अब म उहाँको अनुसन्धान कार्यबारे थोरै चर्चा गर्छु । हामी सबैलाई थाहा छ, अहिले वर्षातको मध्य सिजनमा कमिलाहरू माटो तलबाट निस्किन्छन् र ताँती लगाएर यात्रा गर्छन् । जंगलमा हेर्यौं भने कमिलाको ताँती दोहोरो जस्तो हुने गर्छ । त्यसमा यो सामान्य कुरा हो । तर त्यो ताँतीबाट कुनै एउटा कमिला चाहिँ छुट्टिएर निस्किन्छ र कुनै रुखमा चढ्न थाल्छ एक्लै । उसले आफ्नो वंशलाई छोडिदिन्छ । कुनै रुख खोजिरहन्छ । उसका खुट्टाहरू थाक्छन् । थाकिसकेपछि उसले सकेसम्म कमलो ठाउँ वा टुप्पोमा पुग्छ र त्यहाँनिर फुलेको फूल वा कलिलो पातलाई आफ्नो दुइटा बङ्गाराले बेसरी टोकेर समात्छ र त्यहीँ झुण्डिएर मर्छ । यस्तो हामी विन्टर सिजनमा देख्ने गर्छाैं । त्यसपछि त्यो जुन उसको बङ्गाराले च्यापेको वनस्पतिको कलिलो अंग हुन्छ, त्यहाँबाट संघर्ष गर्दै एउटा फेद पलाएर आउँछ र टुप्पोमा एउटा बड्स जस्तै बन्दै जान्छ ।
त्यसपछि त्यो ठूलो हुन्छ, त्यो फुट्छ । फुटेपछि त्यसमा लाखौ लाख करोडौं कोषिकाहरु यत्रतत्र छरिन्छन् । त्यो छरिएर रुखका हाँगाहरूमा हुँदै क्रमैसँग माटोमा पनि पुग्छ ।
त्योभन्दा अगाडिको धेरै अगाडिको अनुसन्धानले के भनेको रहेछ भने कमिलाले गर्ने यस्तो प्रोसेस अरु पनि कीटहरूले गर्छन्, बड फर्मेसन गर्छन् र बड फैलिन्छ । र, त्यो माटोमा जान्छ । त्यसले फंगाइसँग अननोन रियाक्सन गर्छ, फंगाई अब्जर्भ गर्छ । कतिपय फंगाईको प्रोसेसहरु अननोन छन् । अहिलेसम्म हामीलाई थाहा छैन । फंगाईको बारेमा हामीलाई धेरै कुरा थाहा हुन सकेको छैन ।
तर, जे होस, एउटा कुरा पक्का के देखिएको रहेछ भने धेरै अगाडि अग्रवाल सरले पढ्नुभएको कुराहरू, हामीले धेरै अगाडि पढेको कुरा, त्यसबाट नेचुरल एन्टिबायोटिक बन्छ । नेचुरल एन्टिबायोटिकको सोर्स चाहिँ त्यो बडमा जुन कुरा फर्मेसन हुन्छ, जुन ट्रिगर भएर फर्मेसन हुन्छ र माटोभरि फैलिन्छ । तीनटा शोधले के भनेको रहेछ भने संसारमा जति पनि एन्टिबायोटिकहरु छ, त्यसको एकतिहाई चाहिँ माटोबाट आउँछ । माटोबाट आउने यस्तै प्रोसेसबाट फर्मेसन हुन्छ एन्टिबायोटिकको ।
नेचुरल एन्टिबायोटिकको रिसर्च अहिले पनि धेरै हुने गर्छ । त्यो नेचुरल एन्टिबायोटिकको बारेमा उहाँलाई त्यो खालको रिसर्च गर्ने भनेर उहाँले प्रपोजल त्यही बेलामा, खासगरी जर्मनी जानुभन्दा अगाडि पठाउनुभएको थियो । उहाँको चाहना माउन्ट एभरेष्टको बेस क्याम्पमा, त्यहाँको माटो ल्याएर, त्यहाँभित्रको फंगाईको स्टडी गरेर, त्यस्ता खालका कोषिकाहरु भेटिन्छन् कि भेटिँदैनन्, त्यो अध्ययन गर्ने उहाँको ठूलो इच्छा थियो र उहाँले गर्नुभयो । त्यही अध्ययन र त्यही खालको अर्काे अध्ययन उहाँको स्प्रिन्गर नेचर जर्नलमा, जुन अहिले एकदमै राम्रो जर्नल मानिन्छ, त्यसमा २०१२ वा २०१३ मा प्रकाशन भएको थियो ।
त्यस्तै अर्काे पनि एउटा कुरा सम्झिन्छु माटोको एउटा विशेष गुणयुक्त प्रक्रियाको अध्ययन गर्न उहाँ लालायित हुनुहुन्थ्यो । उहाँले माउन्ट एभरेष्टको बेस क्याम्पबाट माटो ल्याउनुभयो ।
उहाँले निरन्तर रुपमा त्यो बेस क्याम्पको माटोमा अध्ययन गर्नुभयो । त्यो बेलामा नै उहाँले प्रोटिओमिक्सको स्टडी गर्न सुरु गर्नुभयो । प्रोटिओमिक्स भनेको चाहिँ जीवको कोषिकाहरुमा, वनस्पति होस्, जीव होस्, तिनीहरुको कोषिकाहरुमा प्रोटिनले गर्ने रोल, टोटल होलिस्टिक प्रोटिनले गर्ने एक्टिभ प्रोटिनहरु कसरी एक्टिभ हुन्छन् र त्यसमा वातावरणले के कुरा इम्प्याक्ट पार्छ– प्रोटिओमिक्स साइन्सले त्यो कुरा गर्ने गर्दाे रहेछ ।
त्यो बेलामा भारतमा केही सोफिस्टिकेटेड ल्याबहरुमा प्रोटिओमिक्सको स्टडी गर्नको लागि अन्तराष्ट्रिय स्तरबाट वैज्ञानिकहरु आउने गर्नुहुन्थ्यो र हाम्रो सर पनि पटक पटक त्यहाँ जाने गरेको मैले अनुमान गर्छु । किनभने उहाँको प्रपोजल मैले पछिल्लो दिनमा, यही तयारीको क्रममा देखेको थिएँ । भनेपछि कोषिकाहरुमा कुन प्रोटिन सक्रिय छन् र कसरी तिनीहरुले काम गरिरहेका छन्, वातावरणीय तनावमा तिनीहरु कसरी परिवर्तन हुन्छन् भन्ने कुराको अध्ययन गर्नेको सुरुवात उहाँले गर्नुभएको थियो ।
एउटा आर्टिकल स्प्रिन्गर जर्नल, स्प्रिन्गर नेचरमा पब्लिस भएको छ उहाँको, त्यो चाहिँ रिभ्यु आर्टिकल हो । उहाँले भारतमा भएको अध्ययनलाई रिभ्यु गर्नुभएको छ र नेपालमा सुरुवात गरेको अध्ययनको कन्टेक्स्टुअल रिजल्टहरु प्रस्तुत गर्नुभएको छ ।
त्यस्तै, उहाँको धेरै नै सबैजनालाई बुझाउन सक्नुभएको र नेपालमा धेरै नै ख्याति प्राप्त गरेको अध्ययन चाहिँ फोहोरमा भएको लामखुट्टेको लार्भालाई नष्ट गर्ने एउटा विधि हो । उहाँले प्राकृतिक विधि निर्माण गर्नुभयो । खासगरी ढलमा । हामीलाई थाहा छ कि संसारभरिमै लामखुट्टेलाई हटाउन नसकेको अथवा त्यसको प्रभावलाई न्यून गर्न नसकेको मुख्य कारण ढल हो । ढल संसारभरि छ, त्यहाँभित्र लामखुट्टेहरुको लार्भाहरु हुन्छ । र त्यसलाई न्यून गर्नको लागि एउटा जैविक विधिमा भीपी सरले अनुसन्धानमा धेरै समय खर्चिनुभएको थियो, धेरै विद्यार्थी पनि त्यसमा संलग्न भएका थिए । केही विद्यार्थी अहिले पनि संलग्न छन्, खासगरी जापानको एउटा ल्याबमा यसमा काम गर्ने निकै फेलो रिसर्चरहरुले प्रकाशन गरेको हाई र्यांक जर्नलमा भएको आर्टिकलबाट त्यो कुराहरु हेर्न सकिन्छ ।
त्यसैले व्यक्तिगत रुपमा मलाई लाग्छ, प्राध्यापक विश्वनाथ प्रसाद अग्रवाल सरको सबैभन्दा ठूलो योगदान उहाँका प्रकाशित अनुसन्धान पत्रहरु मात्र होइनन्, उहाँको सबैभन्दा ठूलो योगदान सक्षम र अनुसन्धानमुखी मानव निर्माणको परिकल्पना गर्नु हो । त्यो पनि आफ्नै देशमा त्यस्तो जनशक्ति निर्माणको परिकल्पना गर्नु हो । जसको लागि उहाँले पहिले समाजमा असल र ज्ञानी शिक्षकहरुको निर्माण हुनुपर्छ भन्नुभएको थियो ।
हामी सबैलाई थाहा छ– एउटा असल शिक्षकले विद्यार्थीलाई पाठ पढाउँछ र एउटा उत्कृष्ट शिक्षकले विद्यार्थीलाई सोच्न सिकाउँछ । असलले पाठ पढाउँछ, उत्कृष्टले सोच्न सिकाउँछ । त्यस्तै एउटा महान शिक्षकले विद्यार्थीलाई निरन्तर अनुसन्धान गर्न प्रेरित गर्छ ।
प्राध्यापक अग्रवाल त्यही श्रेणीको दोस्रो र तेस्रो शिक्षक हुनुहुन्थ्यो । उहाँले धेरै युवा वैज्ञानिकहरुलाई अनुसन्धानतर्फ डोर्याउनुभयो, मार्गदर्शन गर्नुभयो, उनीहरुमा आत्मविश्वास जगाउनुभयो । उहाँको प्रयोगशालाबाट विकसित भएको अनुसन्धान संस्कृतिले आज पनि धेरै अनुसन्धानकर्मीहरुलाई अनुसन्धानकर्ताहरुलाई प्रेरणा दिइरहेको छ ।
आज यहाँ सम्मानित हुन लाग्नुभएको समुदायका उत्कृष्ट शिक्षकहरु, विविध विषयका उत्कृष्ट शिक्षकहरुलाई हेर्दा मलाई लाग्छ– हामीले प्राध्यापक अग्रवालको जीवनबाट तीनवटा महत्वपूर्ण शिक्षा लिन सक्छौँ ।
पहिलो, शिक्षण कहिल्यै अनुसन्धानबाट अलग हुन सक्दैन । शिक्षण र अनुसन्धान साथसाथै हुन्छन् जुनसुकै लेभलमा पनि ।
दोस्रो, ज्ञानको अन्तिम उद्देश्य समाजको सेवा गर्नु नै हो ।
तेस्रो, संसाधनको अभावभन्दा ठूलो समस्या सपनाको अभाव हो, लक्ष्यको अभाव हो ।
नेपाल जस्तो विकासशील देशमा अनुसन्धान गर्न धेरै चुनौतीहरु छन् । तर धेरै अगाडि नै प्रोफेसर अग्रवालले देखाउनुभएको स्पष्ट दृष्टि, एकाग्रता र कठोर परिश्रम, वैज्ञानिक इमान्दारी भए सीमित स्रोतले पनि केही कुरा गरेर देखाउन सकिन्छ, केही स्तरीय गरेर देखाउन सकिन्छ ।
आज जब हामी उत्कृष्ट शिक्षकलाई सम्मान गरिरहेका छौँ, यसको लागि भिपी अग्रवाल साइन्स फाउण्डेशनलाई हामी सम्पूर्ण शिक्षक समुदायको तर्फबाट मुरी मुरी धन्यवाद दिन चाहन्छौँ । एउटा विद्यालय, क्याम्पस, विश्वविद्यालयलाई केवल पढाउने संस्था मात्र होइन, नयाँ ज्ञान सिर्जना गर्ने केन्द्रको रुपमा विकास गर्नेछौँ । प्राध्यापक डाक्टर विश्वनाथ प्रसाद अग्रवालको जीवनले हामीलाई सिकाउँछ कि एउटा शिक्षकले हजारौँ विद्यार्थीलाई बदल्न सक्छ । एउटा अनुसन्धानकर्ताले सम्पूर्ण वैज्ञानिक समुदायलाई प्रेरित गर्न सक्छ र एउटा दूरदर्शी व्यक्तित्वले राष्ट्रको वैज्ञानिक भविष्य निर्माण गर्न सक्छ।
अन्त्यमा, प्राध्यापक अग्रवालप्रति हार्दिक सम्मान प्रकट गर्दै उहाँबाट प्रेरणा लिएर अनुसन्धानमुखी शिक्षा, नवप्रवर्तन र वैज्ञानिक संस्कृतिको विकासतर्फ हामी सबै प्रतिबद्ध बनौँ भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।
(भिपी अग्रवाल साइन्स फाउन्डेसनले देशभरका शिक्षकमध्येबाट उत्कृष्ट ५ जना शिक्षकलाई सम्मान र पुरस्कार प्रदान गर्ने समारोहमा प्राडा विनिल अर्यालले व्यक्त गर्नुभएको धारणामा आधारित)




