काठमाडौँ । काठमाडौँ महानगर प्रहरी बलले बजारमा उपलब्ध ग्याँस र वितरण प्रणालीको सहजताका लागि काम थालेको छ ।
लामो समयसम्म ग्याँस नपाएको, पहुँच हुनेले मात्र ग्याँस पाएको, विद्यार्थीहरुमा ग्याँसका पहुँच नभएको जस्ता गुनासा आउन थालेपछि ग्याँस डिपोमा भएको ग्याँस वितरण व्यवस्थापनका लागि प्रहरी बल सक्रिय भएको हो ।
बजारमा उपलब्ध ग्यासको सन्तुलित वितरणको व्यवस्था मिलाउन आफूहरले पहल गरेको काठमाडौँ प्रहरी महानगर बलका प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले बताए ।
‘बजारमा उपलब्ध भएको ग्याँसलाई सन्तुलित डिपोमा उपलब्ध ग्याँस वितरणमा सबैको पहुँच बढाउन हामी सहजीकरण गर्छौँ । सिलिण्डरको म्याद सकिने मिति, ग्याँसको तौल, फायर स्टीङ्ग्वीसरको उपलब्धता, उपयुक्त स्थानमा राखिएको छ भने कि छैन, यसको म्याद कहिलेसम्म छ । जस्ता प्रज्वलनशील उपभोग गर्दाका अवस्था पनि हेर्नेछौँ । सिलिण्डर भण्डारण र ढुवानीका जोखिम बुझाउँछौँ,’ उनले भने ।
जोशीका अनुसार यस्ता विषयसँग सम्बन्धित सूचकका आधारमा चार वटै क्षेत्रबाट नियमित सहजीकरण गरिनेछ ।
सहजीकरण कार्यको प्रारम्भ गर्दै आज अनामनगर क्षेत्रमा भएका डिपोहरुको अवस्था हेरिएको थियो । यस क्रममा साना डिपोहरुमा ग्याँस उपलब्ध रहेको भेटियो । ठुला डिपोहरुमा भने जसरी पनि पाइने आशले उपभोक्ताहरुको घुइँचो थियो ।
ठुला ग्याँस डिपोका विक्रेता भने सबैजना आफूहरुकोमा आउने गरेकोले साना डिपोमा स्टक हुने र आफूहरुसँग सकिने बताउँछन् । उपभोक्ता भने विहान ३ बजेदेखि लाइनमा बस्दा पनि ग्यास नपाएको गुनासो गरिरहेका छन् ।
यता नेपाल आयल निगमले विगतमा जस्तै मात्रा र परिमाणमा आपूर्ति भइरहेको जनाएको छ । माग र आपूर्तिमा असन्तुलन हुनुको कारण बारे निगमले, उपभोक्तामा माग बढेको जनाएको छ ।



