काठमाडौँ । डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिकाले जनयुद्ध, जनआन्दोलन तथा प्रदेश स्थापनाका लागि भएका आन्दोलनका सहिद तथा बेपत्ता परिवारका हकवालालाई सहिद स्मृति भत्ता उपलब्ध गराउने भएको छ।
सहिद स्मृति भत्ता वितरण कार्यविधि, २०८१ बमोजिम भत्ता प्राप्त गर्न योग्य सहिद तथा बेपत्ता परिवारका हकवालालाई आवेदन पेस गर्न आग्रह गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नवीर कठायतले जानकारी दिए ।
यसको लागि नगरपालिकाले सार्वजनिक सुचना नै प्रकाशन गरेको कठायतले बताए । उनका अनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्नुपर्नेछ। नगरपालिकाले साउन २६ गते सुचना प्रकाशन गरेको हो ।
उनले दिएको जानकारी अनुसार भत्ता प्राप्त गर्नको लागि सम्बन्धित परिवारका हकवालाले ठूलीभेरी नगरपालिका, प्रशासन शाखामा आवेदन दिन सक्नेछन्।
आवेदनका लागि हकवालाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, हकवालाको मृतकसँगको नाता खुल्ने प्रमाणित कागजात, सहिद वा बेपत्ता पारिएको व्यक्तिको गृह मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अभिलेखमा नाम समावेश भएको प्रमाणित कागजात वा नेपाल राजपत्रमा प्रकाशित सहिद तथा बेपत्ता नागरिकको सूचीमा नाम समावेश भएको प्रमाणित प्रतिलिपि आवश्यक पर्नेछ।
त्यस्तै, सहिद वा बेपत्ता व्यक्तिको हकमा सम्बन्धित स्थानीय तहबाट भएको सिफारिस तथा मेलमिलापबाट जारी गरिएको परिचयपत्रको प्रतिलिपि र अन्य जिल्ला वा स्थानीय तहबाट बसाइँसराइ गरी ठूलीभेरी नगरपालिकामा आएको भए सोसम्बन्धी प्रमाणित कागजात पनि पेस गर्नुपर्नेछ। आवेदकले हकवालाको बैंक खाता नम्बर खुल्ने कागजात समेत पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।
नगरपालिकाले सम्बन्धित वडाका कार्यालयहरूलाई समेत सूचना टाँस गरी आवश्यक सहजीकरण गरिदिन अनुरोध गरेको छ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार तोकिएको समयभित्र आवश्यक कागजातसहित आवेदन नदिने योग्य परिवारले भत्ता प्राप्त गर्ने प्रक्रियामा समस्या हुन सक्ने भएकाले सम्बन्धित हकवालालाई समयमै आवेदन दिन आग्रह गरिएको छ।



