काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति घोषणा गरिएका गगन कुमार थापाले राजनीतिक चरित्र गुमाउँदा ‘नेपाली कांग्रेसको सभापति’ पदका दुईवटा नेमप्लेट सार्वजनिक भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा थापालाई ‘सभापति’ भनेर लेखिएको नेमप्लेट छ भने असन्तुष्ट पक्षले काठमाडौँको चुनदेवीमा कार्यालय स्थापना गरेर शेरबहादुर देउवालाई ‘सभापति’ भनेर नेमप्लेट तयार राखेको छ ।
अब नेपाली कांग्रेस विधिवत रुपमा विभाजनतर्फ उन्मुख भएको छ । किनभने यसअघि गगनकुमार थापा पक्षधरले मात्रै थापालाई सभापति भनेर उल्लेख गर्ने गरेको थियो । अबदेखि भने विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरुले शेरबहादुर देउवालाई सभापति भनेर उल्लेख गरेका छन् ।
यसको अर्थ अवदेखि नेपाली कांग्रेसको नाममा दुई जना सभापति, दुइटा कार्यालय र दुईवटा आधिकारिक लेटरप्याड र छाप देखिने छ ।
यो परिस्थिति भने विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति घोषणा गरिएका गगनकुमार थापाले नै सिर्जना गरेका कांग्रेस नेताहरु बताउँछन् ।
‘गगनजीले शेरबहादुर दाइलाई निवर्तमान सभापति स्वीकार गर्नुभएको छ । त्यतिठूलो राजनीतिक विरासत बोकेको र इतिहास निर्माण गरेको नेता ५ महिना लामो स्वास्थ्य उपचार गरेर स्वदेश फर्कदा एयरपोर्टमा भव्य स्वागत कार्यक्रम आयोजना हुँदैछ भन्ने जानकारी गगनजीसहित सबैलाई थियो । यदि गगनजीमा राजनीतिक चरित्र थियो भने उहाँ एयरपोर्टमा गएर पार्टीको सिनियर नेताको रुपमा, पार्टीको निवर्तमान सभापतिको रुपमा स्वागत गरेर दाइको पक्षमा सिंगो पार्टीपङ्ती छ, दाइलाई कुनै समस्या भए हामी सहयोग गर्छाैं भनिदिएको भए अवस्था फरक हुन्थ्यो । तर, गगनजीलाई केन्द्रीय कमिटीकै साथीहरु एयरपोर्ट जालान् कि भन्ने डर लागेछ र उहाँले त्यही बेलामा केन्द्रीय कमिटी बैठक राखिदिनु भएछ,’ दुबै पक्षलाई मिलाउन लागिपरेका एक नेताले वडापालिकासँग भने ।
उनले थापा एयरपोर्टमा गएर देउवाको स्वागत गरी राजनीतिक चरित्र देखाएको भए चुनदेवीमा सभापतिको नाममा अर्काे नेमप्लेट हुने सम्भावना कम रहेको बताए ।
गत वर्षको भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सभापति देउवा र उनकी श्रीमती डा. आरजु देउवामाथि सांघातिक आक्रमण भएको थियो । देउवाको निजी निवासमा लुटपाट, आगजनी र तोडफोड भएको थियो । सो सांघातिक आक्रमणको कारण देउवा राजनीतिक गतिविधिमा सक्रिय हुन नसक्ने अवस्था सिर्जना भएपछि उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।
यस्तै समयमा गत वर्षको पुस महिनाको अन्तिम साता तत्कालिन महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाईमा विशेष महाधिवेशन भएको थियो । सो विशेष महाधिवेशनले सर्वसम्मत रुपमा थापालाई सभापति र शर्मालाई उपसभापति बनाएको घोषणा गरिएको थियो । तर, तत्कालिन कार्यवाहक सभापति खड्कासहितका नेताहरुले फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन तोकिसकेकोले सो निर्वाचनपछि पार्टीको नियमित महाधिवेशन गर्ने अडान राखेका थिए । सोही विवाद बढ्दै गएर अहिले नेपाली कांग्रेसका दुईटा केन्द्रीय कार्यालय र दुईटा केन्द्रीय सभापति हुने अवस्था सिर्जना भएको हो ।



