काठमाडौँ । अबको केही दिन कर प्रशासनको नीति निर्माताहरु बहस गरिरहेका हुनेछन्– २० वटा वाणिज्य बैंकहरुले ७० अर्ब नाफा कमाएका छन् । अझ अघि बढेर हिसाव सुनाउदै भन्नेछन्– प्रत्येक बैंकले औसतमा ३ अर्बभन्दा बढी नाफा गरेछन् ।
नेपाल राष्ट्र बैंकका अधिकारीहरुलाई त अझ ठूलो अंकको कुरा गर्ने सुविधा प्राप्त छ । त्यसैले उनीहरुले भन्नेछन्– नेपालका वाणिज्य बैंकहरुले मात्रै १०२ अर्ब नाफा गरेका छन् । यो नाफाबाट सरकारले कर मात्रै ३३ अर्ब रुपैयाँ प्राप्त गरेको छ ।
बैंकले किस्ता र सावाँ व्याज तिर्न ताकेता गरिरहेको ऋणी यही तथ्यांकको सहारामा भन्नेछ– नेपालका बैंक कुनै लुटेराभन्दा कम छैनन् । अर्थतन्त्र मन्दीमा छ, उद्योग व्यवसाय बन्द छ, वार्षिक लाखौं नेपाली युवा कामको खोजीमा खाडीतिर भौतारिरहेका छन् । तर, बैंकहरु भने उद्योगी व्यवसायीलाई निचोरेर वार्षिक ७० अर्ब नाफा गरिरहेका छन् ।
त्यस्ता बैंक डिफल्टरको भनाइ सामाजिक संजालमा भाइरल हुनेछ । अनि कुनै सर्वहारा वा गरिबको मसिहा भनाइरहेको नेताले भन्नेछ– नेपालका बैंकले गरिबलाई ऋण नै दिदैनन्, दिए भनेपनि उनीहरुलाई कसरी सुकुम्बासी बनाउने भनेर घरजग्गा लिलामीको मौका कुरेर बसेका हुन्छन् । गरिब मारेर एक वर्षमै ७० अर्बभन्दा बढी नाफा गरिरहेका छन् ।
मान्छेहरुले आफ्नो सुविधा अनुसार फरक फरक व्याख्या गर्नेछन् ।
र, रोचक विषय के हो भने माथि उल्लेख गरिएको बैंकले गत आर्थिक वर्षसम्मको कारोबारबाट झण्डै ७० अर्ब (६९ अर्ब ८६ करोड) रुपैयाँ खुद नाफा गरेको सत्य तथ्यांक हो । कर अघिको उनीहरुको नाफा १०२ अर्ब रुपैयाँ नै हो । र, सरकारले बैंकहरुबाट ३३ अर्ब रुपैयाँ कर लिएको हो ।
तर, बैंकका सेयरधनीको तर्फबाट हेर्ने हो भने गत वर्षको बैंकको नाफाबाट सेयरधनीलाई नाफा छैन । खासमा भन्ने हो भने त ९६ करोड रुपैयाँ नोक्सानी नै छ । किनभने बैंकहरुले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा ९६ करोड रुपैयाँले नोक्सानीमा रहेको उनीहरुले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ ।

बैंकहरुले प्रकाशन गरेको ७० अर्ब रुपैयाँ खुद नाफामा ४ अर्ब ६७ करोड रुपैयाँ नउठेको व्याज रकम पनि समावेश छ । अर्थात नउठेको व्याजलाई पनि खुद नाफामा देखाइएको छ । खुद नाफाबाट नउठेको व्याजलाई घटाउने हो भने बैंकहरुको खुद नाफा ७० अर्बबाट घटेर ६५ अर्ब रुपैयाँ हाराहारी झर्छ ।
अहिले २० वटा वाणिज्य बैंक संचालनमा छन् । यीमध्ये ४ वटा बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । बाँकी १६ वटा बैंकको वितरणयोग्य नाफा सकारात्मक भएपछि ती ४ बैंकको भन्दा कम छ ।
प्रकाशित वित्तीय विवरण अनुसार हिमालयन बैंकको वितरणयोग्य नाफा ९ अर्ब ८४ करोड रुपैयाँले ऋणात्मक छ । एनआइसी एसिया बैंकको वितरणयोग्य नाफा १४ अर्ब ८६ करोड रुपैयाँले ऋणात्मक छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य नाफा ५ अर्ब ८ करोड रुपैयाँले ऋणात्मक छ र प्रभु बैंकको वितरणयोग्य नाफा ६ अर्ब ३१ करोड रुपैयाँले ऋणात्मक छ । यी ४ वाणिज्य बैंकको वितरणयोग्य नाफा ३६ अर्ब १० करोड रुपैयाँले ऋणात्मक छ । बाँकी १६ वटा वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ३५ अर्ब १४ करोड रुपैयाँ भएपनि बैंकहरुको समग्र वितरणयोग्य नाफा ९६ करोड रुपैयाँले ऋणात्मक देखिएको हो ।
नाफाभन्दा कर बढी
प्रभु बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा बैंकको नाफाभन्दा सरकारलाई तिरेको कर बढी देखिन्छ । प्रभु बैंकले गत आर्थिक वर्षमा करअघिको नाफा १ अर्ब ५९ करोड रुपैयाँ गरेको छ भने १ अर्ब ८३ करोड रुपैयाँ कर तिरेको छ । यसो हुनुको कारण सरकारले कर प्रयोजनको लागि तोकेको खराब कर्जाको दर हो ।
बैंकहरुले ५ प्रतिशतसम्म खराब कर्जा भएमा सो बराबरको रकम प्रोभिजनमा राखेर कर प्रयोजनको लागि खर्च लेख्न पाउँछन् । तर, प्रभु बैंकको खराब कर्जा (एनपिएल) १५ प्रतिशत छ । यसो हुँदा ५ प्रतिशतसम्मको रकमलाई खर्च लेख्न दिएर बाँकी रकमलाई नाफा गणना गरेर सरकारले कर लिएको हो । करको यही व्यवस्थाका कारण प्रभु बैंकको नाफाभन्दा बढी कर तिरेको पाइएको हो ।



