पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको हाल कायम खुद्रा बिक्री मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको छ। निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य तत्काल नबढाउने निर्णय गरेको हो।

निगमका अनुसार मूल्य यथावत् राख्दा आगामी १५ दिनमा करिब ८१ करोड ३५ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ। नयाँ मूल्य भदौ १ गते बिहान ००:०१ बजेदेखि लागू हुनेछ।

पछिल्लो समय मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल तथा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव बढेको निगमले जनाएको छ। यस्तो अवस्थामा स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न कठिन भएको निगमको भनाइ छ।

अन्तर्राष्ट्रिय बजारबाट बढेको मूल्यमा पेट्रोलियम पदार्थ खरिद गर्नुपरे पनि उपभोक्तालाई थप मूल्यवृद्धिको भार नपरोस् भन्ने उद्देश्यले हाल कायम बिक्री मूल्यलाई निरन्तरता दिइएको निगमले स्पष्ट पारेको छ।

मूल्य नबढाउने निर्णयसँगै बढेको खरिद लागतको प्रत्यक्ष असर निगमको वित्तीय अवस्थामा पर्ने देखिएको छ। निगमका अनुसार उपभोक्ता हितलाई प्राथमिकता दिँदा पछिल्लो समय उसले ठूलो वित्तीय घाटा व्यहोर्नुपरेको छ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  २२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update