काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै गर्दा देशको विद्युत् विकासको इतिहास भने एक सय वर्षभन्दा लामो यात्रासँग जोडिएको छ।
आधुनिक नेपालको विद्युत् यात्राको पहिलो अध्याय फर्पिङ जलविद्युत् आयोजनाबाट सुरु भएको थियो। तर, देशलाई विद्युत्को उज्यालोतर्फ डोर्याएको यही ऐतिहासिक आयोजना भने अहिले संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ।
दक्षिणकाली नगरपालिका–१, फर्पिङमा रहेको फर्पिङ जलविद्युत् केन्द्र नेपालको पहिलो तथा दक्षिण एसियाकै दोस्रो जलविद्युत् आयोजना मानिन्छ। तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराको पहलमा निर्माण सुरु भएको यो आयोजना विसं १९६८ जेठ ९ गते औपचारिक रूपमा सञ्चालनमा आएको थियो। करिब चार वर्ष लगाएर निर्माण गरिएको आयोजनाबाट सुरुमा २५०–२५० किलोवाट क्षमताका दुई टर्बाइनमार्फत कुल ५०० किलोवाट विद्युत् उत्पादन गरिएको थियो।
त्यतिबेला सडक तथा आधुनिक यातायातको सुविधा समेत नभएको अवस्थामा बेलायत र युरोपबाट आवश्यक उपकरण कलकत्ता हुँदै नेपाल ल्याएर भरिया, खच्चड र डोकोको सहायताले फर्पिङसम्म पुर्याइएको थियो।
साना तीन खोल्सा तथा मुहानको पानी संकलन गरी विद्युत् उत्पादन गरिएको थियो। उत्पादन भएको बिजुली तत्कालीन दरबार, राणा परिवार, सरकारी कार्यालय तथा काठमाडौंका केही स्थानमा वितरण गरिएको थियो। यही आयोजनाबाट काठमाडौं उपत्यकाले पहिलोपटक विद्युत्को उज्यालो देखेको थियो।
तत्कालीन समयमा फर्पिङबाट उत्पादित बिजुलीलाई ‘चन्द्रज्योति’ नाम दिइएको थियो। त्यसबेला ५ सय किलोवाट उत्पादन क्षमता आफैंमा ठूलो उपलब्धि थियो। छिमेकी भारतमा सन् १८९७ मा दार्जिलिङको सिद्रापोङ जलविद्युत् आयोजना सञ्चालनमा आएको थियो भने फर्पिङ त्यसको केही वर्षपछि सञ्चालनमा आएको हो।

समयक्रममा देशभर ठूला जलविद्युत् आयोजना निर्माण हुन थाले। कुलेखानी, त्रिशूली, देवीघाट, मर्स्याङ्दी, कालीगण्डकी ‘ए’, मध्य मर्स्याङ्दी हुँदै माथिल्लो तामाकोशीसम्म आइपुग्दा नेपालको विद्युत् प्रणालीले ठूलो फड्को मारेको छ। हाल निजी क्षेत्र, नेपाल विद्युत् प्राधिकरण र प्राधिकरणका सहायक कम्पनीमार्फत जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भएको छ।
नेपाल विद्युत् विकास विभागका पछिल्ला विवरणअनुसार एक मेगावाटभन्दा माथिका सयौँ जलविद्युत् आयोजना सञ्चालनमा छन्। निजी क्षेत्रका आयोजना पनि तीव्र रूपमा थपिँदै गएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को पछिल्ला विवरणअनुसार अहिले २०५ वटा जलविद्युत् आयोजनाबाट करिब ३ हजार ७६३ मेगावाट र २५ वटा सौर्य आयोजनाबाट करिब १४२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ। उद्योगका सह–उत्पादनसमेत जोड्दा सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता करिब ३ हजार ९११ मेगावाट पुगेको छ।
नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीमार्फत मात्रै माथिल्लो तामाकोशी ४५६ मेगावाट, रसुवागढी १११ मेगावाट, साञ्जेन ४२.५ मेगावाट, चिलिमे २२.१ मेगावाट र माथिल्लो साञ्जेन १४.८ मेगावाट गरी ६४६.४ मेगावाट क्षमता राष्ट्रिय प्रणालीमा जोडिएको छ। तीमध्ये ४५६ मेगावाटको माथिल्लो तामाकोशी अहिले सञ्चालनमा रहेको नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो।
त्यस्तै, देशमा विद्युत् उत्पादन बढाउने क्रमसँगै निर्माणाधीन तथा अध्ययनमा रहेका आयोजना पनि ठूलो संख्यामा छन्। विद्युत् विकास विभागको पछिल्लो विवरणमा बडीगाड, भरभुङ, भेरी–२, चेरा–१ जस्ता जलाशय तथा नदी प्रवाहमा आधारित विभिन्न आयोजना अध्ययनको चरणमा छन्।
यसरी फर्पिङमा ५ सय किलोवाटबाट सुरु भएको नेपालको विद्युत् यात्रा आज हजारौँ मेगावाटको चरणमा पुगेको छ। तर, यही यात्राको पहिलो पाइला भने अहिले संरक्षणको पर्खाइमा छ।
जीर्ण बन्दै शतवार्षिकी स्मारक
फर्पिङ जलविद्युत् केन्द्रको सय वर्ष पुगेको अवसरमा विसं २०६७ मा शतवार्षिकी महोत्सव आयोजना गरिएको थियो। त्यसक्रममा केन्द्र परिसरमा शतवार्षिकी स्मारकसमेत निर्माण गरिएको थियो। त्यतिबेलादेखि नै फर्पिङलाई संग्रहालय तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने घोषणा हुँदै आएको छ।
तर अहिले अवस्था भने निराशाजनक देखिन्छ। संरक्षण र नियमित सरसफाइको अभावमा शतवार्षिकी स्मारक क्षेत्र फोहोर, झारपात र घाँसले ढाकिएको छ। स्मारकसम्म पुग्ने बाटोसमेत घाँसले छोपिएको छ। पर्यटक तथा अध्ययनकर्ताका लागि आकर्षणको केन्द्र बन्नुपर्ने स्थान अहिले उपेक्षितजस्तै देखिन्छ।

केन्द्र परिसरमा रहेका तत्कालीन प्रशासनिक तथा आवासीय भवन, गोदाम, घोडा तबेला लगायतका ऐतिहासिक संरचना पनि उचित संरक्षणको अभावमा जीर्ण हुँदै गएका छन्। कतिपय संरचनाका इँटा तथा भग्नावशेष छरपस्ट अवस्थामा देखिन्छन्। ऐतिहासिक मेसिन तथा टर्बाइन भने तुलनात्मक रूपमा सुरक्षित अवस्थामा छन्।
उत्पादन बन्द, पानीको उपयोग जारी
फर्पिङ जलविद्युत् केन्द्रबाट नियमित विद्युत् उत्पादन अहिले भइरहेको छैन। विद्युत् उत्पादनका लागि प्रयोग हुने पानीलाई पछिल्लो समय ललितपुरका विभिन्न क्षेत्रमा खानेपानीका रूपमा प्रयोग गर्न थालिएपछि विद्युत् उत्पादन रोकिएको हो। केन्द्रको पानी भैंसेपाटी, खोकना, बुङमती, छम्पी, जावलाखेल, कुपण्डोल, कुमारीपाटीलगायत क्षेत्रमा वितरण हुँदै आएको उल्लेख छ।
विद्युत् उत्पादन बन्द भए पनि यहाँका पुराना टर्बाइन, जेनेरेटर, नियन्त्रण प्रणालीलगायत उपकरणले नेपालको प्रारम्भिक विद्युत् प्रविधिको इतिहास बोकेका छन्। यही कारण फर्पिङलाई केवल बन्द विद्युत् आयोजना नभई अध्ययन, अनुसन्धान र ऊर्जा इतिहासको जीवित दस्तावेजका रूपमा संरक्षण गर्नुपर्ने आवाज उठ्दै आएको छ।
सरकार र नेपाल विद्युत् प्राधिकरणले फर्पिङलाई ऊर्जा संग्रहालय, अनुसन्धान केन्द्र तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारेका छन्। आयोजनाको स्वामित्वमा रहेको करिब ३२४ रोपनी जग्गालाई उपयोग गरी हरियाली पार्क, पुस्तकालय, बाल उद्यान, रेस्टुरेन्टलगायत संरचना निर्माण गर्ने गुरुयोजना समेत अघि बढाइएको छ। तर गुरुयोजनाको कार्यान्वयन अपेक्षित गतिमा अघि बढ्न सकेको छैन।
पर्यटन प्रवर्द्धनका लागि निर्माण गरिएको ‘डाइमन्ड जुब्ली पार्क’ पनि यही क्षेत्रको सम्भावनासँग जोडिएको छ। प्राकृतिक सौन्दर्य, ऐतिहासिक विद्युत् गृह, पुराना मेसिन तथा जलाशयलाई एकीकृत गरी व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन सके फर्पिङ काठमाडौं उपत्यकाको महत्वपूर्ण ऊर्जा–पर्यटन केन्द्र बन्न सक्छ।
एक शताब्दीभन्दा बढीअघि ५ सय किलोवाट विद्युत् उत्पादन गरेर फर्पिङले नेपालमा आधुनिक ऊर्जा विकासको ढोका खोलेको थियो। त्यसपछि देशले हजारौँ मेगावाटको विद्युत् उत्पादन क्षमतासम्मको यात्रा तय गरिसकेको छ र वर्षायाममा भारततर्फ विद्युत् निर्यातसमेत गर्न थालेको छ।
तर हजारौँ मेगावाटको ऊर्जा विकासको चर्चा भइरहँदा त्यस यात्राको पहिलो अध्याय संरक्षणविहीन हुनु विडम्बनापूर्ण देखिन्छ। फर्पिङका पुराना मेसिन, जलाशय, पाइपलाइन, प्रशासनिक भवन, आवासीय संरचना र शतवार्षिकी स्मारकलाई एकीकृत रूपमा संरक्षण गर्न सके यसले नेपालको विद्युत् इतिहास नयाँ पुस्तालाई बुझाउने महत्वपूर्ण माध्यम बन्न सक्छ।
नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिकोत्सवको अवसरमा देशको विद्युत् उत्पादन यात्राको समीक्षा भइरहँदा फर्पिङले एउटा महत्वपूर्ण प्रश्न पनि उठाएको छ—हजारौँ मेगावाट विद्युत् उत्पादन गर्ने आधुनिक नेपालको आधारशिला बनेको ५०० किलोवाटको त्यो पहिलो विद्युत् गृहलाई हामीले कति सुरक्षित राख्न सकेका छौँ ?
फर्पिङ आज विद्युत् उत्पादनको सक्रिय केन्द्र नभए पनि नेपालको ऊर्जा इतिहासको पहिलो उज्यालो बोकेको जीवित सम्पदा हो। त्यसैले यसको संरक्षण केवल एउटा पुरानो विद्युत् गृहको संरक्षण नभई नेपालको आधुनिक ऊर्जा यात्राको इतिहास जोगाउने विषय पनि हो।
तस्बिर : नेपाल फोटो लाइब्रेरी



