झिमरुक गाउँपालिकाले भन्यो– पूर्वस्वीकृतिबिना विज्ञापन प्रकाशन नगर्नू

 

काठमाडौँ । प्यूठानको झिमरुक गाउँपालिकाले स्वीकृति नलिइ आफ्नो नाममा सूचना, सन्देश तथा विज्ञापन प्रकाशन प्रशारण नगर्न आग्रह गरेको छ ।

गाउँपालिकाले विभिन्न सञ्चारमाध्यममा सूचना, सन्देश तथा विज्ञापन प्रकाशन वा प्रसारण गर्नुअघि गाउँपालिकाबाट अनिवार्य रूपमा पूर्वस्वीकृति लिन सम्बन्धित सञ्चारमाध्यम, विज्ञापन एजेन्सी तथा सञ्चारकर्मीलाई आग्रह गरेको हो।

गाउँपालिकाको पूर्वस्वीकृति, सम्झौता तथा कार्यादेशबिना गाउँपालिकाको नाम उल्लेख गरी कुनै पनि सूचना, सन्देश वा विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालले जानकारी दिए ।

गाउँपालिकाका अनुसार पछिल्लो समय पूर्वस्वीकृति तथा कार्यादेशबिना विभिन्न सञ्चारमाध्यममा गाउँपालिकाको नाम उल्लेख गरी सूचना, सन्देश र विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने र त्यसबापत भुक्तानी माग गर्ने गरेको पाइएकोले नियन्त्रण गर्न खोजिएको हो । गाउँपालिकाले अबदेखि सूचना, सन्देश वा विज्ञापन प्रकाशन तथा प्रसारण गर्नुअघि अधिकारप्राप्त अधिकारीको लिखित स्वीकृति, सम्बन्धित सम्झौता र कार्यादेश अनिवार्य रूपमा लिनुपर्ने स्पष्ट गरेको छ।

गाउँपालिकाले पूर्वस्वीकृति, सम्झौता र कार्यादेशबिना प्रकाशन तथा प्रसारण गरिएका सामग्रीको बिल–भरपाईको रकम भुक्तानी नगर्ने समेत जनाएको छ। त्यस्ता सामग्री प्रकाशन वा प्रसारण गरेमा त्यसको जिम्मेवारी सम्बन्धित सञ्चारमाध्यम, विज्ञापन एजेन्सी वा अन्य सम्बन्धित पक्ष स्वयंले लिनुपर्ने गाउँपालिकाको भनाइ छ।

 

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update