काठमाडौँ । दोलखाको जिरी नगरपालिकाले इन्फ्लुएन्जा भाइरसको संक्रमण फैलिन थालेपछि नगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
नगरपालिकाको नगरस्तरीय द्रुत प्रतिकार्य समितिको निर्णयअनुसार २०८३ भदौ ३ गतेदेखि भदौ ६ गतेसम्म विद्यालयमा पठनपाठन, परीक्षा सञ्चालन तथा भीडभाड हुने गतिविधि नगर्न नगरपालिकाले निर्देशन दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार खत्रीले जानकारी दिए ।
नगरपालिकाले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विद्यालयमा हुने सम्पूर्ण क्रियाकलाप भदौ ७ गतेदेखि सुचारु गर्न अनुरोध गरेको छ। नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई पत्राचार गर्दै निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ।
इन्फ्लुएन्जा भाइरसको संक्रमण रोकथामका लागि नगरपालिकाले पत्रसँगै पठाइएको पाम्फ्लेटमा उल्लेखित स्वास्थ्यसम्बन्धी जानकारी विद्यार्थी, अभिभावक तथा सम्बन्धित सबैलाई जानकारी गराउन समेत विद्यालयहरूलाई अनुरोध गरेको छ।
नगरपालिकाले संक्रमणको अवस्था हेरेर आवश्यक थप निर्णय लिन सक्ने जनाएको छ।



