Odapalika - The Fourth Estate - चौथो अंग
पदमार्गहरूलाई पुनर्जीवन दिने जिरीका अभियानकर्मीको शिवाकोटीले गरे प्रशंसा

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पदमार्गहरूलाई पुनर्जीवन दिने जिरीका अभियानकर्मीको प्रशंसा गरेका छन्।

थेम्बा समूहले निर्माण गरेको ‘जिरी एडभेन्चर ट्रेक’ नामक डकुमेन्ट्रीको पहिलो सार्वजनिक प्रदर्शनमा बोल्दै शिवाकोटीले पदमार्गहरूलाई पुनर्जीवन दिने अभियानको प्रशंसा गरेका हुन्।

‘जिरी एडभेन्चर ट्रेक केवल डकुमेन्ट्री मात्र होइन, पूर्वका पदमार्गहरूलाई पुनर्जीवन दिने एक अभियान हो,’ नेता शिवाकोटीले भने ।

जिरी दोलखाको गौरव भएको बताउदै उनले इतिहासले सगरमाथा पदमार्गको प्रवेशद्वार बनाएको सो ठाउँ केवल भौगोलिक दृष्टिले मात्र हैन, सांस्कृतिक र पर्यावरणीय दृष्टिले पनि महत्वपूर्ण रहेको बताए । जिरी र यस आसपासका पर्यटकीय गन्तव्यहरू चेर्दुङ, भुतपोखरी, पाँचपोखरी, जटापोखरी सँगसँगै दोलखाका अन्य गन्तव्यहरूलाई पनि धार्मिक र साहसिक पर्यटनमा जोड्नु आवश्यक छ भन्दै नेता शिवाकोटीले दोलखा भिमसेन, च्छोरोल्पा, लप्ची गुम्बा, कालिन्चोक, चिलङ्खा, सैलुङ, बिगु, सुनखानी, क्षमावती, हनुमन्ते, सिंगटी हुँदै तामाकोशी किनारका थुप्रै क्षेत्रहरू पर्यटन सम्भावनाको खानी रहेको बताए ।

नेता शिवाकोटीले केवल काठमाडौँ र पोखरालाई मात्रै नभइ पश्चिम र पूर्वको सन्तुलित पर्यटन विकासको दृष्टिकोण लिनु आवश्यक रहेको बताए । यसका लागि सडक, सञ्चार, सूचना प्रवाह, पर्यटन पूर्वाधार र स्थानीय सहभागिता सबैको समान महत्व हुने पनि उनले बताए ।  

पर्यटन प्रवर्द्धन अभियानहरूलाई पार्टीले सदैव समर्थन गर्ने बताउँदै शिवाकोटीले सम्बन्धित निकायलाई घचघचाई रहने बताए । 

हाम्रो पार्टीको दर्शन भनेको स्थानीय सशक्तीकरण, सांस्कृतिक सम्मान र समावेशी विकास हो। यही दर्शनअनुसार समग्र दोलखाका पर्यटन सम्भावनाहरू उजागर गर्न, नीति निर्माणदेखि कार्यक्रम कार्यान्वयनसम्म पार्टी सधैं सकारात्मक रूपमा उभिन्छ। यो कामको लागि जेन–जी पुस्तालाई समेत लिएर जाने प्रतिबद्धता व्यक्त गर्दछु,’ नेता शिवाकोटीले भने ।

उनले यस्तो सिर्जनशील प्रयासले युवा नेतृत्व र स्थानीय पहिचानलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिएकोसमेत बताए ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १८:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update