काठमाडौँ । रसुवा जिल्लामा पर्ने भोटेकोसी नदीमा तिब्बततर्फबाट अकास्माता ठूलो बाढी आएको छ ।
बाढीका कारण रसुवा जिल्लाको टिमुरे बजार क्षेत्रमा ठूलो क्षति पुगेको आशंका गरिएपनि क्षतिको यकिन विवरण आउन सकेको छैन ।
रसुवाको गोसाइकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईले गाउँपालिका कार्यालयसहित धेरै कार्यालयहरु बाढीमा परेको जानकारी प्राप्त भएपनि विस्तृत विवरण आउन बाँकी रहेको बताए ।
‘गाउँपालिकाको कार्यालय टिमुरे बजारमै थियो । कर्मचारीको निवास पनि त्यही थियो, त्यो सबै बाढीमा पर्यो भन्ने सुचना प्राप्त भएको छ । म स्वास्थ्य उपचारको लागि काठमाडौँ आएकोले बच्न सफल भएको छु, अरु साथीहरुको केही विवरण थाहा हुन सकेको छैन । सम्पर्क हुन सकेको छैन,’ प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने ।
भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्याएको टिमुरे बजार क्षेत्र गोसाइकुण्ड गाउँपालिकामा पर्छ ।
यसैबीच गृहमन्त्रालयले तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म त्रीशुली नदीको तटिय क्षेत्रका जिल्लाहरु नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका स्थानहरूमा उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।
रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा बाढी गए लगत्तै सरकारले पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्र बनाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जानकारी दिएको छ । जोखिमयुक्त क्षेत्र (तल्लो तटीय क्षेत्र) का बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको प्रधानमन्त्री कार्यालयको भनाइ छ ।
‘बाढीबाट थप प्रभावित हुनसक्ने अन्य नागरिकलाई सुरक्षित स्थानमा सर्न पनि निरन्तर सूचना प्रवाह समेत गरिरहेको छ । बाढीबाट पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न/नगराउन आग्रह समेत गरिएको छ,’ कार्यालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले निर्देशन दिए लगत्तै सरोकारवाला निकायहरुले आफ्ना संयन्त्रहरु परिचालन गरी बाढीग्रस्त क्षेत्रमा उद्धार, खोज र राहतलाई तीव्रता दिएका हुन् । जिल्लास्थित विपद् प्राधिकरणले सक्रियता बढाइसकेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रशासनलगायतले पीडितको उद्धार तथा खोजलाई तीव्र बनाएका छन् । साथै नेपाली सेनाले पनि आफ्नोतर्फबाट उद्धार तथा खोजलाई अगाडि बढाएको छ ।
प्रधानमन्त्री शाहको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुई वटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ । साथै निजी कम्पनीका हेलिकप्टरहरुलाई उद्धार तथा खोजका लागि तयारी अवस्थामा राखिएको छ ।
अहिले सिंहदरबारस्थित गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा गृहमन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ । साथै प्रधानमन्त्री शाहले सोही सम्बन्धमा केही बेरमा अर्थात् बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।




