काठमाडौँ । भोटेकोशी नदीमा अकास्मात बाढी आएपछि रसुवा जिल्लामा ठूलो परिमाणमा जनधनको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
तर, बाढी भर्खरै आएको, संचार सम्पर्कमा समस्या उत्पन्न भएको तथा त्यसक्षेत्रमा रहेका सरकारी संयन्त्रहरु सम्पर्क विहिन भएका कारण क्षतिको विवरण आउन नसकेको हो ।
यहीबीचमा प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक संजाल फेसबुक मार्फत ६ कुरा सार्वजनिक गरेका छन् ।
यस्ता छन् प्रधानमन्त्री शाहले फेसबुक मार्फत भनेका ६ कुराः
१. उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ अन्य जिल्लाहरूबाट पनि अतिरिक्त जनशक्ति प्रभावित क्षेत्र तर्फ मुभ भैसकेको छ ।
२. विपद् व्यवस्थापन प्राधिकरण सक्रिय छ, मेडिकल टिम, स्काउट, रेडक्रस सबैसँग समन्वय हुँदै आवश्यक कदम चाल्न भनिएको छ । अतिरिक्त एम्बुलेन्स र मेडिकल जनशक्ति पनि प्रभावित एरियामा पठाउने प्रक्रिया अघि बढिसकेको छ ।
३.तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित सिडिओलाई निर्देशन दिईएको छ, एसएमएस कल मार्फत जानकारी गराउने सुरक्षित स्थानमा जान अलर्ट गरिएको छ ।
४. सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइमा राख्न भनिएको छ । निजी हेलिकप्टर कम्पनीहरूलाई पनि हेलिकप्टरहरु स्ट्यान्डबाई राख्न जानकारी गराइएको छ।
५.अबको केही बेरमा आगामी आवश्यक कदमहरू चाल्न उच्च स्तरीय बैठक बोलाइएको छ ।
६. सबै जना सुरक्षित स्थानमा बस्नुहोला र आफन्तहरू सँग सम्पर्क नभएमा हाम्रो निकायहरूको रेस्क्यु अपडेट कुर्नुहोला । १२३४ नम्बरमा सम्पर्क गरी अन्य जानकारी र राहत बारे बुझ्न सकिनेछ ।




