रसुवामा बाढीः ३ जलविद्युत् आयोजना, २ केन्द्र र २२० केभी सबस्टेशन प्रभावित, छैन विजुली

काठमाडौं । रसुवामा आएको आकस्मिक बाढीका कारण जनधनमा क्षति पुग्नुका साथै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत उल्लेख्य क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणले बुधबार जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालित हुन आग्रह गरेको छ। बाढीको जोखिम अझै कायम रहेकाले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका सुरक्षाकर्मी, कर्मचारी तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र जोखिम देखिए सुरक्षित स्थानतर्फ स्थानान्तरण हुन प्राधिकरणले अनुरोध गरेको छ।

बाढीका कारण प्राधिकरणको उत्पादन, प्रसारण तथा वितरणसँग सम्बन्धित संरचनामा क्षति पुगेपछि विद्युत् आपूर्ति प्रभावित भएको छ। विशेषगरी रसुवागढी, चिलिमे, त्रिशूली–३ ए, त्रिशूली–३ बी हब, २२० केभी सबस्टेशन, त्रिशूली तथा देवीघाट जलविद्युत् केन्द्र र विभिन्न वितरण संरचना प्रभावित भएका छन्।

प्राधिकरणका अनुसार यी संरचनामा क्षति पुगेपछि केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको छ। विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरणले हरसम्भव प्रयास गरिरहेको जनाएको छ। आपूर्ति नियमित नहुन्जेलसम्म सर्वसाधारणलाई धैर्य गर्न तथा विद्युत् आपूर्तिसम्बन्धी आधिकारिक सूचना मात्र विश्वास गर्न प्राधिकरणले आग्रह गरेको छ।

प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी तथा सर्वसाधारणलाई आवश्यक सहयोग गर्न पनि अनुरोध गरेको छ। साथै, आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्न सबैमा आग्रह गरिएको छ।

प्राधिकरणले बाढीको जोखिम अझै रहन सक्ने भएकाले प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा विद्युत् संरचनाको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक व्यवस्थापन गरिरहेको जनाएको छ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update