काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा आएको भीषण बाढीका कारण नेपालमा समेत ठूलो क्षति पुगेको भन्दै बाढीपहिरो प्रभावितको तत्काल उद्धार, खोजी तथा राहत कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।
देशवासीका नाममा सन्देश जारी गर्दै उनले तिब्बतबाट आएको बाढी भोटेकोशी र त्रिशूली नदीमा प्रवेश गरेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका जलतटीय क्षेत्रमा जनजीवन प्रभावित भएको उल्लेख गरेका छन्। बाढीका कारण बाटोघाटो, पुलपुलेसा, विद्युत् आयोजनालगायत भौतिक संरचना तथा खेतीपातीमा ठूलो क्षति पुगेको भन्दै उनले दुःख व्यक्त गरेका छन्।
प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शाहले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सुरक्षाकर्मीसहित बेपत्ता नागरिकको तत्काल खोजी कार्यलाई तीव्रता दिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
उनले विपत्तिको समयमा खोजी, उद्धार, राहत तथा उपचारका काममा कुनै कमी हुन नदिन सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक, स्थानीय तह, सामाजिक संघ–संस्था तथा आम नागरिक सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आह्वान गरेका छन्।
सीमासँग जोडिएको क्षेत्रमा आएको प्राकृतिक विपत्तिको असर अर्को देशमा समेत प्रत्यक्ष पर्न सक्ने भन्दै उनले यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि अलग–अलग प्रयासभन्दा द्विपक्षीय तथा बहुपक्षीय संयुक्त प्रयास प्रभावकारी हुने धारणा राखेका छन्।




