काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले भोटेकोशी बाढीबाट उत्पन्न मानवीय संकटलाई संयमतापूर्वक व्यवस्थापन कार्यमा एकजुट हुन सबैमा अपिल गरेकी छन् ।
अकल्पनीय विपदले पुर्याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उनले उद्धारको पर्खाइमा रहेका व्यक्ति तथा परिवारलाई उद्धार तथा राहत प्रदान गर्ने, विस्थापित परिवारलाई स्थापित गर्ने, त्रासमा रहेका नागरिकलाई भयमुक्त बनाउने मानवीय सहयोगका लागि जुट्न आग्रह गरेकी हुन् ।
संकट व्यवस्थापनमा महानगरपालिका आफ्ना दायित्वप्रति जिम्मेवार रहेको उल्लेख गर्दै उनले तीनै तहका सरकार, सुरक्षा निकाय, जनप्रतिनिधि, सामाजिक संघसंस्था, निजी क्षेत्र र आम नागरिकलाई एकीकृत रूपमा परिचालन हुन आग्रह गरेकी छन् ।
‘यो दुःखलाई केवल समाचारका रूपमा मात्र हेरेर बस्ने होइन । हाम्रो सानो सहयोगले कसैको जीवन बच्न सक्छ । त्यसैले आफूले जे सकिन्छ उद्धार, राहत सामग्री, यातायात वा स्वास्थ्य सेवामार्फत सहयोग गर्न म हार्दिक अपिल गर्दछु,’ कार्यवाहक मेयर डंगोलले भनिन् ।
बाढी प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित र सतर्क रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गर्दै उनले भूगोलले छुट्टिएको भए पनि मानवताको नाताले सबै नेपाली एक हुनुपर्नेमा जोड दिइन् ।
काठमाडौँ महानगरपालिका बाढी प्रभावित नागरिकहरूको दुःखबाट उकास्ने कामका लागि प्रतिबद्ध रहेको जनाउँदै कार्यवाहक मेयर डंगोलले जीवन बचाउने र आशा जगाउने कार्यमा सबैलाई हातेमालो गर्न आह्वान गरेकी छन् ।




