हेटौँडा-काठमाडौँ सडकखण्डमा नयाँ ट्राफिक व्यवस्थापन: कुन सवारी कताबाट जाने

हेटौँडा । पृथ्वी राजमार्गको धादिङ खण्डस्थित कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर प्रशासनले काठमाडौँ–हेटौँडा आवतजावत गर्ने सवारी साधनका लागि नयाँ रुट निर्धारण गरी ट्राफिक व्यवस्थापन कडा बनाएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले मिति २०८३/०५/१५ मा एक सूचना जारी गर्दै विगत दुई दिनको ट्राफिक चाप, सडक क्षमता र यात्रुको सुरक्षालाई मध्यनजर गरी भदौ १६ गतेदेखि लागू हुने गरी सवारी आवागमनको नयाँ तालिका सार्वजनिक गरेको हो।

सूचना अनुसार तय गरिएका मुख्य व्यवस्थाहरू निम्न अनुसार छन्:

ठूला तथा मालवाहक सवारीका लागि रुट: १० चक्केसम्मका सम्पूर्ण मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनहरू हेटौँडाबाट काठमाडौँ जाँदा त्रिभुवन राजपथ प्रयोग गर्नुपर्नेछ। काठमाडौँबाट फर्किँदा भने ती सवारी कान्ति राजमार्गमार्फत आउनुपर्नेछ। साथै, मौसम र सडक अवस्थाका कारण कान्ति राजमार्ग हुँदै आउने यात्रुवाहक सवारीले साँझ ६:०० बजेभित्र मकवानपुरको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोष्ट पार गरिसक्नुपर्नेछ।

साना यात्रुवाहक सवारीको रुट: १४ सिटभन्दा कम क्षमता भएका साना सवारीहरू हेटौँडा आउँदा फर्पिङ-फाखेल-कुलेखानी-भीमफेदी रुट प्रयोग गर्नुपर्नेछ। काठमाडौँतर्फ जाँदा भने भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक प्रयोग गर्नुपर्नेछ।

त्रिखण्डी बेलिब्रिज डाइभर्सन: मकवानपुरको त्रिखण्डी नजिकै रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर भएकाले इन्धन तथा भारी मालवाहक सवारीलाई उक्त पुल प्रयोग नगरी नजिकैको डाइभर्सन प्रयोग गर्न भनिएको छ।

विपद्जन्य परिस्थितिलाई ध्यानमा राखी अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, सडकमा धैर्य र अनुशासन कायम राख्न, ओभरटेक नगर्न तथा ड्युटीमा खटिएका ट्राफिक प्रहरी र सुरक्षाकर्मीको निर्देशन पूर्ण रूपमा पालना गर्न प्रशासनले सबै चालक तथा यात्रुहरूमा अनुरोध गरेको छ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update