कमलामाई नगरपालिकाले बसपार्कको सार्वजनिक शौचालय भाडामा लगाउने, भाडा मासिक ३५ हजार

 

काठमाडौँ । सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाले वडा नं. ६ स्थित बसपार्क क्षेत्रमा निर्माण भएको सटरसहितको सार्वजनिक शौचालय भाडामा लगाउने प्रक्रिया अघि बढाएको छ। 

नगरपालिकाले शिलबन्दी प्रस्ताव आह्वान गर्दै इच्छुक व्यक्ति, संघसंस्था वा फर्मबाट प्रस्ताव माग गरेको हो।

नगरपालिकाले सार्वजनिक शौचालय सञ्चालनका लागि मासिक न्यूनतम ३५ हजार रुपैयाँ भाडा निर्धारण गरेको छ। इच्छुकले पहिलोपटक सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयसम्म शिलबन्दी प्रस्ताव पेस गर्नुपर्नेछ। नगरपालिकाले भदौ १५ गते सार्वजनिक सुचना प्रकाशित गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधी तिवारीले जानकारी दिए ।

शिलबन्दी प्रस्ताव पेस गर्दा एक हजार रुपैयाँ फिर्ता नहुने गरी नगद धरौटी बुझाउनुपर्ने व्यवस्था गरिएको छ। साथै, आफूले कबोल गरेको भाडा रकम बराबर तीन महिनाको रकम नगरपालिकाको धरौटी खातामा जम्मा गरेको सक्कल भौचरसमेत पेस गर्नुपर्नेछ।

सम्झौता भएको मितिदेखि २०८४ साल असार मसान्तसम्मका लागि शौचालय भाडामा उपलब्ध हुने नगरपालिकाले जनाएको छ। दुवै पक्षको सहमतिमा सम्झौताको अवधि थप गर्न सकिने सूचनामा उल्लेख छ।

नगरपालिकाले प्रस्ताव स्वीकृत भएपछि सम्झौता गर्न तोकिएको म्यादभित्र नआएमा धरौटी रकम जफत गरी प्रस्ताव रद्द गर्न सक्ने जनाएको छ। त्यस्तै, प्रत्येक महिनाको भाडा अर्को महिनाको ७ गतेभित्र बुझाउनुपर्ने र तोकिएको समयमा भाडा नबुझाए १० प्रतिशतका दरले जरिवाना लाग्ने व्यवस्था गरिएको छ।

नगरपालिकाले सार्वजनिक शौचालयलाई व्यवस्थित रूपमा सञ्चालन गरी बसपार्क क्षेत्रका यात्रु तथा सर्वसाधारणलाई सहज सुविधा उपलब्ध गराउने उद्देश्यले भाडामा लगाउन लागेको हो।

 

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update