काठमाडौँ । सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाले नदीजन्य पदार्थ संकलन तथा बिक्रीका लागि आह्वान गरेको बोलपत्रमा सबैभन्दा बढी कबोल गर्ने निर्माण कम्पनी छनोट गरेको छ।
नगरपालिकाले प्रकाशित गरेको बोलपत्र स्वीकृतिको आशयसम्बन्धी सूचनाअनुसार कमलामाईको बजार (देउराली–पुच्छार) क्षेत्र तथा आईईईले तोकेको क्षेत्रका लागि अम्बर निर्माण सेवा, कमलामाई–४, सिन्धुलीले ६१ लाख ९० हजार रुपैयाँ कबोल गरेको छ।
उक्त कबोललाई सबैभन्दा बढी प्रभावग्राही बोलपत्रका रूपमा स्वीकार गरी आशयपत्रसम्बन्धी सूचना प्रकाशित गरिएको नगरपालिकाले जनाएको छ।
त्यस्तै, कमलाखोला करकरे–हरितिया बगर क्षेत्र तथा आईईईले तोकेको क्षेत्रका लागि गडुर कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, गोलन्जोर–३, सिन्धुलीले ४३ लाख ५६ हजार रुपैयाँ कबोल गरेको छ।
नगरपालिकाले आन्तरिक आय संकलन (ठेक्का बन्दोबस्त) कार्यविधि, २०७५ को दफा ५, उपदफा २ बमोजिम सबैभन्दा बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र सारभूत रूपमा प्रभावग्राही भएको जनाएको छ।
नगरपालिकाले बोलपत्र स्वीकृतिको आशयसम्बन्धी जानकारीका लागि सात दिनको आशयपत्र प्रकाशित गरेको हो। तोकिएको अवधिभित्र सम्बन्धित बोलपत्रदाताविरुद्ध कुनै दाबी–उजुरी भए प्रमाणसहित पेश गर्न सकिने नगरपालिकाको सूचनामा उल्लेख छ।




