काठमाडौं । रसुवागढी हुँदै आएको भोटेकोशी बाढीबाट पीडितहरुको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि आर्थिक संकलन निरन्तर जारी छ । बाढीबाट भएको ठूलो जनधनको क्षतिपछि देश तथा विदेशबाट सहयोग जुट्ने क्रम जारी छ ।
देशका प्रतिष्ठित उद्योगी, व्यापारी, कर्मचारी, विभिन्न तहका सरकार तथा आम नागरिकले समेत ठूलो मात्रामा आर्थिक सहयोग गरिरहेका छन् ।
बाढी प्रभावितहरुका लागि धनुषाको मिथिला नगरपालिकाले मात्रै ४१ लाख रुपैयाँ सहयोग गरेको छ । नगरपालिकाभित्र कार्यरत जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विद्यालयका कर्मचारीबाट सहयोग संकलन गरिएको छ ।
नगर प्रमुखले ५१ हजार १५१ रुपैयाँ, नगर उपप्रमुखले १२ हजार तथा अरु जनप्रतिनिधिले ३ लाख ३३ हजार १६५ रुपैयाँ सहयोग गरेका छन् भने स्थानीय तह विपद् व्यवस्थापन कोषबाट ११ लाख रुपैयाँ दिइनेछ ।
बाढी प्रभावितका लागि जनकपुरधामबाट पनि १५ लाख ५५ हजार रुपैयाँ संकलन भएको छ । जनकपुरधामका व्यवसायी, संघसंस्था, शैक्षिक संस्था तथा स्थानीयले गरी १५ लाख ५५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
यो बाहेक पीडितका लागि ठूलो परिमाणमा जुत्ता–चप्पल, लत्ताकपडा, खाद्यान्न, सरसफाइका सामग्री तथा भान्सामा प्रयोग हुने सामग्री समेत संकलन गरिएको छ ।
कञ्चनपुर जिल्लाका स्थानीय तह, संघसंस्था र व्यक्तिबाट गरी बाढी प्रभावितका लागि एक करोड बराबरको सहयोग जुटेको छ भने सहयोग गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
शुक्लाफाँटा नगरपालिकाले ७ लाख, सुदूरपश्च्मि विश्वविद्यालयले ८८ लाख, कञ्चनपुर उद्योग वाणिज्य संघबाट ५ लाख २५ हजार, लिटिल बुद्ध एकेडमीले ८ लाख २५ हजार, उदयदेव सहकारी संस्थाले २ लाख ११ हजार, मेघा सहकारीले १ लाख १ हजारसहित अरु सहकारीबाट ९८ हजार सहयोग जुटेको छ ।
यसैगरी निड्स नेपालले १ एक लाख २५ हजार, समाज कल्याण संघले १ लाख ८६ हजार, भीमदत्त नगरपालिका–१८ ले १ लाख ११ हजार, सिर्जनशील सहकारीले १ लाख ११ हजार, भीमदत्त नगरपालिका–४ ले ५१ हजार, वडा नम्बर १७ ले ५० हजार रकम राहत कोषमा जम्मा गरेका छन् ।
यसैगरी तनहुँ उद्योग वाणिज्य संघले १ लाख ५६ हजार १५६ रुपैयाँ सहयोग गरेको छ ।
झापाको कचनकवल गाउँपालिकाले २९ लाख ६ हजार १सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको छ ।
यता मकवानपुरको हेटौंडाका पाँचवटा शैक्षिक संस्थाले ३२ लाख ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।




