काठमाडौं । समाज कल्याण परिषद्ले विपद् प्रभावित नागरिकलाई राहत तथा मानवीय सहयोग उपलब्ध गराउँदा उनीहरूको आत्मसम्मान, मर्यादा र गोपनीयताको सम्मान गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक सङ्घसंस्थासहित सम्बन्धित सबैलाई आग्रह गरेको छ।
भदौ १० गते नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्दे खोलामा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। परिषद्को आह्वानपछि उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक सङ्घसंस्था परिचालन हुँदै आएका छन्।
राहत तथा मानवीय सहयोगका क्रममा पीडितहरूको आत्मसम्मान, मर्यादा र गोपनीयताको ख्याल नगरी उनीहरूका श्रव्यदृश्य सामग्री तथा तस्बिर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक भइरहेको भन्दै परिषद्ले गम्भीर ध्यानाकर्षण जनाएको छ।
परिषद्ले विपद्मा परेका नागरिकलाई राहत तथा मानवीय सामग्री वितरण गर्दा राहत सामग्री वितरणसम्बन्धी आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ। साथै, पीडितको अनुमति बिना उनीहरूको तस्बिर तथा भिडियो नखिच्न र पीडा थपिने गरी त्यस्ता सामग्रीको प्रकाशन तथा सम्प्रेषण नगर्न अनुरोध गरेको छ।
त्यस्तै, राहत तथा मानवीय सहयोगका क्रममा धार्मिक वा व्यावसायिक प्रकृतिका फोटो, लोगो, सङ्केत वा अन्य प्रचारात्मक सामग्री नराख्न, प्रकाशन तथा सम्प्रेषण नगर्न/नगराउन परिषद्ले सम्बन्धित सबैमा हार्दिक अनुरोध गरेको छ।
परिषद्ले विपद्का समयमा गरिने मानवीय सहयोगलाई पीडितको सम्मान, मर्यादा र गोपनीयताको संरक्षण गर्दै जिम्मेवार, संवेदनशील र मानवीय ढङ्गले सञ्चालन गर्न आग्रह गरेको हो।




