काठमाडौं । रसुवागढी हुँदै भदौ १० गते आएको भीषण बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा हुने क्रम जारी छ ।
यसै क्रममा विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले कोषमा १ करोड अमेरिकी डलर अर्थात् करिब १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।
रसुवा बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत र पुनर्निर्माणका लागि एनभिडियाका सीईओले उक्त रकम उपलब्ध गराएका हुन् । यो सँगै प्रधानमन्त्री दैवी उद्धार कोषमा १० अर्बभन्दा बढी रकम संकलन भइसकेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भिडियो सन्देश जारी गर्दै उक्त सहयोगका लागि हुआङलाई नेपाल सरकारका तर्फबाट हार्दिक आभार व्यक्त गरेका छन् । उनले जेन्सेनको यो सहयोगले अरूलाई पनि सहयोग गर्न प्रेरित गर्ने समेत उल्लेख गरेका छन् ।
बाढी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनर्निर्माणका लागि कुनै बहुराष्ट्रिय कम्पनी वा व्यक्तिबाट प्राप्त यो ठूलो रकम हो ।




