गोरखा । गोरखाको हिमाली क्षेत्रमा आएको बाढीका कारण चार घर र एउटा पुलमा क्षति पुगेको छ ।
आइतबार बिहान चुमनुब्री गाउँपालिका–४ र २ हुँदै बग्ने थेराङ खोलामा बाढी आउँदा घर र पुलमा क्षति पुगेको हो ।
बाढीका कारण चुमनुम्री–४ मा नाम्रुङकानुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छ्योदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको जिल्ला प्रहरी कार्यालयले गोरखाले जानकारी दिएको छ ।
बाढीबाट कुनै मानवीय क्षति भने भएको छैन । बाढी आएको थाहा पाएलगत्तै स्थानीयबासीले भागेर ज्यान जोगाएका हुन् । सो स्थानमा रहेको एउटा झोलुंगे पुल समेत बाढीले बगाएको छ ।
पुल बगेसँगै लगेपछि मनास्लु पदयात्रामा गएका पर्यटकलाई भने समस्या पर्ने भएको छ । सोही कारण तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए ।




