रसुवा बाढीमा मृत्यु हुनेको स्मरणमा आज राष्ट्रिय शोक मनाइँदै, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । रसुवागढी हुँदै भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको स्मरणमा आज राष्ट्रिय शोक मनाइँदैछ । 

१८ गते बसेको मन्त्रिपरिषद बैठकले भदौ १० गते रसुवागढी हुँदै आएको बिनाशकारी बाढीमा परी मृत्यु हुनेको सम्मानमा राष्ट्रिय शोक मनाउने घोषणा गरेको थियो । 

नेपालको लाङटाङ हिमाल आसपासको क्षेत्रमा हिमचट्टान खसेर चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना हुदै भिषण बाढी आउँदा नेपालमा मात्रै १ हजार ३४२ जनाको मृत्यु पुष्टि भइसकेको छ । 

आज उनीहरुको सम्मानमा देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

यो बाढीले चीनतर्फ पनि ३१ जनाको मृत्यु भएको थियो । अझै बाढीमा परी करिब ५ हजार सम्पर्कबिहीन छन् । उनीहरुको खोजी तथा उद्धारको कोशिस भइरहे पनि अझै पत्ता लाग्न सकेको छैन । 

रसुवा र नुवाकोटमा रहेका एक दर्जन विद्युत आयोजनाका सुरुङमा ठूलो संख्यामा मजदुर तथा इन्जिनियरहरु फँसेका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी बाढीमा परी ६ हजार ८३ जना घाइते भएका छन् ।

बाढीपछिको खोज, उद्धार तथा राहतका लागि २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन भएका छन् । बाढी प्रभावित क्षेत्रबाट १३ हजार ३९१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update