जेन–जी शहीदको सम्झनामा आज सार्वजनिक बिदा

काठमाडौं । गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको स्मरणमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । 

तत्कालीन सरकारले दर्ता नभएका सामाजिक बन्द गर्ने निर्णय गरेपछि जेनजी युवाहरुले काठमाडौंसहित देशैभर गत वर्षको भदौं २३ गते प्रदर्शन गरेका थिए ।

सो क्रममा संसद भवन कब्जाको कोशिस गरेपछि प्रहरीले गोली चलाउँदा काठमाडौंमा १९ जना र सुनसरीको इटहरीमा २ जना गरी २१ जनाको एकै दिन मृत्यु भएको थियो । सोही दिनको सम्झनामा सरकारले आज सार्वजनिक बिदा दिएको हो । 

भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन भएको २३ भदौको दिनलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएपछि नेताहरुको जीवनशैली, कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा प्रवाहमा देखिएको समस्या, नेताका छोराछोरीको अस्वभाविक जीवनशैलीजस्ता मुद्दामा जेनजी आन्दोलन केन्द्रित भएको थियो । 

भदौ २३ गते भएको आन्दोलनमा सरकारले दमन गरेपछि भदौ २४ गते देशैभर प्रदर्शन र आगजनी भएको थियो । जसमा संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी कार्यालयहरु, व्यापारिक भवन तथा प्रतिष्ठान, निजी र सार्वजनिक सम्पत्ति, नेताहरुका व्यक्तिगत निवासमा आन्दोलनकारीले आगो लगाएका थिए । 

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update