काठमाडौं । संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक आज बस्ने भएको छ । संसद सचिवालयका अनुसार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक सिंहदरबारमा बस्नेछ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने र ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
यस्तै उनले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्ने पनि सम्भावित कार्यसूचीमा रहेको छ ।
यसैगरी आजै दिउँसो सवा १ बजे राष्ट्रियसभाको पनि बैठक बस्ने भएको छ । बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेस हुने कार्यसूची छ ।
योसँगै विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले सो प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन् ।




