काठमाडौं । अवैध रूपमा लुकाईछिपाई राखेको ठूलो परिमाणको विस्फोटक पदार्थ (पटाका) सहित काठमाडौंबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भएका सुजन कपाली रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका–१८ भुरुङखेलस्थित एक घरमा अवैध रूपमा विस्फोटक पदार्थ पटाका लुकाईछिपाई राखेर बिक्रीवितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उक्त स्थानमा पुगेर खोजतलास गरेको थियो ।
सो क्रममा प्रहरीले काभ्रेको बनेपा १० घर भई हाल काठमाडौं भुरुङखेल बस्ने ३६ वर्षीय कपालीलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ठूलो परिमाणमा विस्फोटक पदार्थ (पटाका) बरामद गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाका अनुसार बरामद पटाका अवैध रूपमा भण्डारण तथा बिक्री वितरण गर्ने उद्देश्यले राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कपालीविरुद्ध प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





