काठमाडौं । भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीबाट प्रभावितहरुका लागि भोजपुरको हतुवागढी गाउँपालिकाले २४ लाख ५३ हजारभन्दा बढी राहत प्रदान गर्ने भएको छ ।
बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि गाउँपालिकाले २४ लाख ५३ हजार ५०४ रुपैयाँ बराबरको रहम प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
पालिकाले सो रकम स्थानीय सरकार, जनप्रतिनिधि, कर्मचारी र पालिकामा कार्यरत सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीबाट संकलन गरेको हो । पालिकाभित्रका सामूदायिक विद्यालयका शिक्षक र कर्मचारीबाट मात्रै १६ लाख २ हजार ७७७ रुपैयाँ बराबरको रकम संकलन भएको छ ।
यसैगरी, गाउँपालिकाका कर्मचारीबाट ६ लाख ७१ हजार १२७, जनप्रतिनिधिबाट ७९ हजार र गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट एक लाख गरी कुल २४ लाख ५३ हजार ५०४ रुपैयाँ सहयोग जुटेको हो ।




